वामदेवका कुराले ओली झस्किए, काम लागेन बालुवाटार डिनर, टुक्रा पर्ने भयो एमाले

काठमाडौं । एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी फागुन २८ गतेको निर्णय फिर्ता लिन नेता वामदेव गौतमले आग्रह गरेका छन् ।

राष्ट्रिय सभाका सांसद समेत रहेका गौतमको अनुरोधलाई ओलीले सिधै अस्वीकार गरिदिएका छन् । बालुवाटारमा बिहीबार राति डिनर खाने क्रममा ओलीसँग गौतमले एमालेको केन्द्रीय कार्यसमिति भङ्ग गरेर महाधिवेशन आयोजक कमिटी बनाउने निर्णय खारेज गर्न आग्रह गरेका थिए । ओलीले आफ्नो प्रस्ताव अस्वीकार गरेको गौतमले प्रेस नोटमार्फत जनाएका छन् ।

‘हिजो (बिहीबार) ९ गते क.केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो’, गौतमले प्रेस नोटमा भनेका छन्, ‘उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो । मैले गत फागुन २८ गते तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें । उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो ।’

‘त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए’, एमालेका नेता गौतमले भनेका छन्, ‘डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए ।’

वरिष्ठ नेता माधव नेपालसँगको दुई चरणको वार्ता सकारात्मक नभएपछि ओलीले बिहीबार राति गौतमलाई बालुवाटारमा बोलाएर मिलेर जान प्रस्ताव गरेका थिए ।

गौतमले पनि ओलीको प्रस्ताव मानेका छैनन् । योसँगै एमालेका नेताहरू मिलेर जाने सम्भाना निकै कम भएको छ ।

Published : Friday, 2021 April 23, 9:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया