कांग्रेसको कुरा नमानेका महन्थ ठाकुरको सपना उडायो, गुटको गोप्य बैठक

काठमाडौं । एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले कर्णाली प्रदेशमा फ्लोरक्रस गरेर आफ्नै सरकार ढालेर प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई असली पावर देखाएपछि जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई सबैभन्दा ठूलो धक्का लागेको छ ।

ओलीलाई विश्वासको मत दिएर सरकारमा सहभागी हुने र प्रधानमन्त्री हुने सपना देखेका ठाकुरले बिहीबार सिंहदरबारमा पूर्व राष्ट्रिय जनता पार्टीका सांसदहरूलाई बोलाएर दुखेसो पोखेका छन् । आफू निकटका सांसदहरूलाई मात्रै बोलाएर ठाकुरले ओलीसँग भइरहेको वार्ता र सरकारमा साझेदारीका विषयमा कुराकानी गरेका हुन् ।

ठाकुरले आफ्ना माग पूरा नभएसम्म प्रधानमन्त्री ओलीलाईसघाउन नसकिने पूर्व राजपाका सांसदहरूलाई जानकारी गराएका छन् ।

जसपाका मागबारे सरकारसँग छलफल चलिरहे पनि अहिलेसम्म माग पूरा नभएको ठाकुरले बताएको एक सांसदले जानकारी दिएका छन् ।

ठाकुरले पूर्व राजपाको संसदीय दलको कार्यालयमा गुटको भेला राखेका हुन् । गुटको भेलामा उपेन्द्र यादव समर्थक सांसद अर्थात पूर्व संघीय समाजवादी पार्टीलाई बोलाइएको थिएन । ठाकुरले ओलीसँग भइरहेको वार्ताका बारेमा ब्रिफिङ गरेका थिए ।

बैठकपछि प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले प्रधानमन्त्री ओलीसँग भएको पछिल्लो छलफलको बारेमा ठाकुरले सांसदहरुलाई ब्रिफिङ गरेको जानकारी दिएका छन् ।

मुद्दा फिर्ता, बन्दी रिहाइ, नागरिकता समस्या, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री ओलीसँग भएको छलफलको बारेमा अध्यक्ष ठाकुरले सांसदहरुलाई जानकारी गराउँदै अहिले पनि माग पूरा भइनसकेको बताएका थिए ।

ठाकुरले प्रधानमन्त्री ओलीसँग हुँदै आएको छलफलबारे पार्टीभित्रैबाट भ्रम छर्ने काम भइरहेको भन्दै असन्तुष्टिसमेत जनाएका छन् ।

सांसद कर्णले पूर्व राजपाका सांसदहरूको सहभागिता रहेको बैठकमा ठाकुरले कतिपय विषयमा अस्पष्टता रहेकाले त्यसलाई प्रष्ट पार्न अनौपचारिक छलफल गरिएको प्रतिक्रिया दिएका छन् ।

अध्यक्ष ठाकुरले आफूहरूले उठाउँदै आएको माग कुनै पनि पूरा नभएको र कतिपय प्रक्रियामा रहेको आश्वासन पाएकाले त्यो पूरा भएपछि मात्रै सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे टुंगो लगाउने सांसदहरूलाई बताएका छन् ।

प्रधानमन्त्री ओली जसपा नेपालले राखेको मागप्रति सकारात्मक रहेको र अहिलेसम्म माग पूरा हुनेमा आफू विश्वस्त रहेको पनि ठाकुरले बैठकमा बताएको एक नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा जसपा नेपालमा विवाद छ । अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीको पक्षमा छन् । अर्का अध्यक्ष यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् ।

दुई निलम्बितबाहेक ३२ सांसद रहेको जसपामा तत्कालीन राजपाका तर्फबाट १६ सांसद छन् । जसपाका एकजना सांसद रेशम चौधरी जेलमा छन् । अर्का एकजना हरिनारायण रौनियार निलम्वनमा परेका छन् ।

तत्कालीन समाजवादी पार्टीका १६ सांसद रहेका छन् । सरकारमा जानेबारे विवाद भएकाले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने अवस्था आएमा पार्टी विभाजन या फ्लोर क्रस हुने सम्भावना रहन्छ ।

त्यसले गर्दा दुवै पक्षले आ–आफ्ना सांसदहरूसँग नियमित छलफलहरू गर्दै आएका छन् । हालसम्म जसपाको संसदीय दल समायोजन भएको छैन । संसदीय दल समायोजन नभए पनि जेष्ठताका आधारमा महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपालको संसदीय दलको संयुक्त बैठक दुई पटक बसिसकेको छ ।

जसपाका अध्यक्ष ठाकुरलाई अनुदारवादी नेताका रुपमा पहिचान बनाएको आरोप लाग्दै आएको छ । ठाकुरले जातीय कुरा र एजेण्डा बोक्ने गरेको आरोप पनि छ । छिटो रिसाउने ठाकुरले विवाह गरेर आउनेवित्तिकै भारतीय महिलालाई तत्काल नागरिकता दिनुपर्ने माग राख्दै आएका छन् ।

भारतमा नेपाली महिलाले विवाह गरेर जाँदा ७ वर्ष पर्खिनुपर्ने प्रावधान छ । नेपालमा पनि विवाह गरेर आउने भारतीय महिलालाई सात वर्षपछि नेपाली नागरिकता दिनुपर्ने प्रस्ताव नागरिकता विधेयकमा छ । ठाकुरलाई यो प्रस्ताव मन परेको छैन ।

Published : Thursday, 2021 April 22, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया