कांग्रेसको निर्णयबाट ओलीलाई तनाब, अधिनायकवादीहरू डरले थुरुरु

काठमाडौं । नेपाली कांग्रेसले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकारको हर्कत र गतिविधिप्रति निकै चिन्तित बनेको छ ।

बुधबार बुढानिकलण्ठमा बसेका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकले ओलीलाई विस्थापित गरेर लोकतान्त्रिक शक्तिहरू मिलेर सरकार बनाउने विषयमा छलफल भएको एक नेताले बताएका छन् ।

ओलीका हरेक कदमहरू संविधानको प्रतिकूल हुँदै गएको कांग्रेसको ठहर छ । कांग्रेसले ओली सरकारले जनतालाई महँगी, मूल्य वृद्धि, कोरोनाको संक्रमण रोकथाममा उचित व्यवस्थापन गर्न नसकेको जस्ता आरोपहरू लगाएको छ । कांग्रेसले मुलुकको शान्ति सुरक्षा कमजोर हुँदै गएकोमा चिन्ता पनि जनाएको छ ।

कांग्रेसले आफ्नो नेतृत्व सरकार बनाउनेबारेमा पनि छलफल गरेको छ । कांग्रेसले नयाँ सरकार गठनका लागि गृहकार्य तीव्र बनाएको ती नेताले बताएका छन् ।

बैठकमा सभापति शेरबहादुर देउवाले कांग्रेसको नेतृत्वमा सरकार बन्ने स्थिति निर्माण हुँदै गएको भन्दै अहिलेनै आपत्तिएर केही नहुने बताएका छन् । सरकारविरोधी दल र तिनका नेताहरूसँग आफू सम्पर्कमा रहेको देउवाले बैठकमा जानकारी गराएका छन् ।

देउवाले नयाँ सरकार गठनका लागि वातावरण सकारात्मक बन्दै गएको ब्रिफिङ गरेको एक नेताले बताए । देउवाले बैठकमा माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका छन् ।

२० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा पहल गर्दै आएको छ ।

कांग्रेसले ओलीको अधिनायकवादबाट मुलुकलाई मुक्त गराउने जनाएको छ । ओलीले आफूलाई निरंकुश बनाउँदै लगेको कांग्रेसको आरोप छ ।

सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्या पुग्ने सुनिश्चित भएलगत्तै संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने गरी कांग्रेस अगाडि बढेको छ ।

कांग्रेसले माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षका सांसद र नेपाल पक्षका सांसदको साथ पाउने अवस्था सिर्जना भएकाले सरकार बन्ने अवस्था बनेको निष्कर्ष निकालेको छ ।

कांग्रेसले पार्टीको केन्द्रीय निर्वाचन समितिको संयोजकमा पूर्वसांसद, पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता महादेवप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पार्टीको विधान–२०१७ (संशोधन सहित) को धारा ३५ बमोजिम केन्द्रीय निर्वाचन समितिको संयोजकमा उनलाई नियुक्त गरिएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

निर्वाचन समितिका यसअघिका संयोजक राधेश्याम अधिकारीले पदबाट राजीनामा दिएपछि वरिष्ठ अधिवक्ता यादवलाई सो पदमा नियुक्त गरिएको छ ।

कांग्रेसले पार्टीको १४औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने तालिका निर्धारण गरेको छ ।

महाधिवेशनका लागि पार्टीका गाउँ–नगर, वडा अधिवेशन आगामी असार २० गते, गाउँ–नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते निर्धारण गरिएको छ ।

कांग्रेसको बुधबारको पदाधिकारी बैठकको गृहकार्यबाट प्रधानमन्त्री ओलीलाई तनाब बढाइदिएको छ । चारैतिरबाट एक्लिदै गएका ओलीलाई कांग्रेसले पनि पूरै असहयोगको नीति लिएको छ ।

Published : Thursday, 2021 April 22, 7:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया