कांग्रेसले खुट्टा उचालेपछि ओली सरकार डरायो, खाणद्वारा कम्युनिस्टको विरोध

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले अप्रत्याशित रुपमा प्रतिनिधि सभाको बैठक स्थगित गरेको भन्दै आपत्ति जनाएका छन् ।

खाणले मंगलबार विज्ञप्ति जारी गरेर ओलीले सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेको भन्दै विरोध जनाएका हुन् ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीजीले विघटन गर्नु भएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनर्स्थापित गरी संसद चलिरहेको अवस्थामा संसदका पदाधिकारी र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग कुनै परामर्श एवं सुझाव नलिई एकलौटी ढंगले सरकारले प्रतिनिधि सभाको सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेको प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

उनले भनेका छन्, ‘संसद कानून बनाउने र जनताको आवाज उठाउने साझा थालो हो ।’

‘सरकारको निर्माण संसदबाट हुन्छ र सरकार संविधान, जनता र संसदप्रति उत्तरदायी हुनु पर्दछ तर, उत्तरदायी देखिएन’, खाणले भनेका छन् ।

‘संसदमा महत्वपूर्ण विधेयकहरू पास भई कानूनहरु बनाउनु पर्ने, जनसरोकारका महत्वपूर्ण विषयहरूलाई सम्बोधन गरी जनतालाई भरोषा र विश्वास दिलाउनु पर्नेमा संसदीय अभ्यास र परम्परा विपरित सरकारले संसदको सामाना गर्न नसकेर अस्वभाविक ढंगले प्रतिनिधि सभाको चालु अधिवेशनलाई अन्त्य गरेकोमा नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ’, खाणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलहरूले ओलीविरुद्ध अविश्वासको प्रस्ताव संसदमा दर्ता गराउने तयारी गरेका बेला ओलीले संसदको बैठक एकतर्फी स्थगित गर्न सिफारिस गरेका थिए ।

ओलीले अविश्वासको प्रस्ताव छल्न संसद बैठक स्थगित गरेको आरोप कांग्रेसले लगाएको छ ।

Published : Tuesday, 2021 April 20, 11:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया