ओलीको पछाडि लाग्दा गृहमन्त्री थापालाई दोहोरो धक्का, सजाय पाए

काठमाडौं । माओवादी केन्द्रले पार्टी छाडेर एमालेतिर लागेका गृहमन्त्री रामबहादुर थापाको सांसद पद खाइदिएको छ ।

माओवादीको तर्फबाट राष्ट्रिय सभामा बागमती प्रदेशबाट निर्वाचित सांसद थापाले मातृ पार्टी छाडेर केपी ओलीको पार्टी एमालेमा लाग्दा सांसद पद गुमाउनु परेको हो ।

सांसद पदसँग थापाले आइतबार गृह मन्त्री पद पनि गुमाएका छन् । राष्ट्रिय सभा सचिवालयले थापाको राष्ट्रिय सभा सदस्य पद खारेज भएको सूचना जारी गरेको छ ।

माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि पूर्वमाओवादी थापा एमाले प्रवेश गरेका थिए ।

माओवादी केन्द्रको तर्फबाट थापा बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका थिए ।

विगतमा माओवादी पार्टी विभाजन गरेर मोहन वैद्यतिर लागेका थापा पुनः पुष्पकमल दाहाल ‘प्रचण्ड’को पार्टीमा फर्किएका थिए । माओवादीमा फर्किएका थापा मन्त्री र सांसद बनेका थिए ।

माओवादीबाट अवसर पाएका थापाले अहिले आएर प्रधानमन्त्री ओली नेतृत्वको एमालेलाई साथ दिएर माउ पार्टी छाडेका थिए ।

यसैबीच, थापालाई प्रधानमन्त्री ओलीले पुनः गृह मन्त्रीको सपथ गराउने स्रोतले जनाएको छ । मन्त्रीमा निरन्तरता पाउने सर्तमा थापाले प्रचण्डलाई छाडेर ओलीलाई साथ दिएको चर्चा पेरिसडाँडामा हुने गरेको छ ।

यसअघि, माओवादीले सांसद पदहरू खाइदिएका टोपबहादुर रायमाझी, प्रभु साह र लेखराज भट्टले पुनः मन्त्री पदको सपथ लिएका थिए ।

माओवादी छाडेका मन्त्रीहरूले नैतिकता देखाएर मन्त्री बन्न अस्वीकार गर्नुपर्ने टिकाटिप्पणी सामाजिक हुने गरेको छ ।

Published : Sunday, 2021 April 18, 11:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया