एक्लिएका ओलीलाई फेरि धक्का, क–कसले छाडे साथ ?
काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीद्वारा आह्वान गरिएको सर्वदलीय बैठकमा सत्ता साझेदार माओवादी केन्द्रले बहिस्कार गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बसेको सर्वदलीय बैठकमा माओवादी अनुपस्थित भएको हो । ओलीले शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर निम्तो दिएका थिए ।
दाहालले बैठक बालुवाटारमा होइन, सिंहदरबारमा राख्नुपर्ने भन्दै बालुवाटारको बैठकमा सहभागी नहुने जनाएका थिए ।
माओवादी केन्द्रका नेताहरूले बालुवाटारबाट आधिकारिक रुपमा सर्वदलीय बैठकको निम्तो नआएको बताएका छन् ।
जनता समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई पनि अनुपस्थित भएका छन् । यादव र भट्टराई प्रधानमन्त्री ओलीसँग असन्तुष्ट छन् ।
जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण सहभागी थिए ।
नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणको उपस्थिति रहेको थियो ।
सर्वदलीय बैठकमा आफ्नै दलका पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल पनि अनुपस्थित रहेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया