ओलीको एउटा सिङ झड्याम्मै भाँच्चियो, एमालेको लगलग खुट्टा काम्यो, महन्थ ठाकुरको बिचल्ली

वीरेन्द्रनगर । प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो सरकार बचाउन विभिन्न तिकडम गरिरहेका बेला कर्णाली प्रदेशमा ओलीको दल एमालेको सरकार गिराउने खेल नराम्रोसँग पराजित भएको छ ।

ओलीकै सांसदहरूले ओलीलाई धोका दिएपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । ओलीकै चार जना सांसदहरूका कारण माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ ।

शुक्रबार बसेको प्रदेश सभाको बैठकमा शाहीले प्रदेशसभामा विश्वासका मतका लागि गरेको प्रस्तावको पक्षमा २२ मत प्राप्त भएको थियो । यो मतसँगै शाहीको सरकार जोगिएको छ । एमालेको पक्षमा जम्मा १५ मत परेको छ ।

शाहीलाई माओवादी केन्द्रको १२, कांग्रेसको ६ र एमालेका चार जनाले फ्लोर क्रस गरेर मत दिएका हुन् ।

एमालेका चार प्रदेश सभा सदस्यले फ्लोर क्रस गर्दा कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत पाएका छन् ।

प्रदेशसभामा एमाले एक्लैका २० सदस्य रहे पनि एमालेका वरिष्ठ नेता माधव नेपाल समूहका ९ मध्ये चार सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मतको पक्षमा मतदान गरेका हुन् ।

फ्लोर क्रस गर्ने एमालेका सांसदहरूमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा छन् । यीमध्ये ज्वाला र नन्दसिंह बुढा मन्त्री छन् ।

शाहीले राखेको प्रस्तावको विपक्षमा एमालेका १५ सांसदले मतदान दिएका छन् । प्रदेशसभामा एमालेका तर्फबाट सदस्य रहेका सभामुख र राप्रपाका एक सदस्यले मतदान गरेनन् ।

एमाले कर्णाली प्रदेश सभा संसदीय दलले पार्टीको ह्वीप उल्लंघन गरेर फ्लोर क्रस गर्ने चार सांसदलाई कारबाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार साँझ बसेको दलको बैठकले सांसदहरू प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दसिंह बुढालाई पार्टीको साधारण सदस्य समेत नरहनेगरि कारबाही गर्न एमाले कर्णाली प्रदेश कमिटीलाई सिफारिस गरेको सांसद करवीर शाहीले बताएका छन् ।

एमालेको प्रदेश कमिटीले अब कारबाहीका लागि केन्द्रीय कमिटीलाई सिफारिस गर्नेछ । केन्द्रीय कमिटीले कारबाहीको निर्णय गरेपछि उनीहरूको सांसद पद पनि गुम्नेछ ।

शुक्रबार मुख्यमन्त्री शाहीको पक्षमा एमालेका चार सांसदले विश्वासको मत दिएका थिए ।

पार्टीको निर्णयविपरीत माओवादी केन्द्रका नेता शाहीलाई मुख्यमन्त्रीका रूपमा विश्वासको मत दिएपछि उनीहरूलाई कारबाहीको सिफारिस गरिएको सांसद शाहीले बताए ।

विश्वास र अविश्वासको मतको सन्दर्भमा, नीति तथा कार्यक्रम, बजेट र राष्ट्रिय महत्वमा प्रभाव पार्ने विषयमा पार्टीको ह्वीप नमाने स्वतः कारबाही हुने व्यवस्था छ ।

एमालेका चार सांसदले फ्लोर क्रस गरेसँगै मुख्यमन्त्री शाहीको पद भने जोगिएको छ । अब एक वर्षसम्म उनकाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाइने छैन ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसाप)का अध्यक्ष महन्थ ठाकुर समूहलाई साथमा लिएर सरकार बचाउने प्रयास गरिरहेका बेला एमालेकै चार सांसदले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेपछि तनावको स्थिति उत्पन्न भएको छ ।

ओलीको केन्द्र सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो भने एमालेबाटै सबैभन्दा ठूलो धोका हुने देखिएको छ । जसपाका अध्यक्ष ठाकुरले ओलीलाई साथ दिए भने नराम्रोसँग फस्ने संकेत देखिएको छ ।

जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई ओलीसँग मिलेर सरकार बनाउने पक्षमा छैनन् । जसपा नेपाली कांग्रेससँग मिलेर केन्द्रमा सरकार बनाउन चाहेको छ ।

उता, गण्डकी प्रदेशमा कांग्रेससहितका दलहरूले एमालेको सरकार हटाउन अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद फुत्किने लगभग पक्का जस्तै छ ।

लुम्विनी प्रदेशमा पनि मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने अवस्थामा छ ।

Published : Friday, 2021 April 16, 11:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया