कांग्रेस पराजित हुँदा देशको समृद्धि र विकास हारेको छ, कम्युनिस्टलाई हराउनुस्ः खतिवडा

उदयपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टले जितेर कांग्रेस पराजित हुँदा देशको समृद्धि र विकासले हारेको बताएका छन् ।

नेपाली कांग्रेस उदयपुर क्षेत्र नं. २ ले कटारीमा शुक्रबार आयोजना गरेको कार्यक्रमर्लाइ सम्बोधन गर्दै खतिवडाले भनेका छन्, ‘कांग्रेस हार्दा देशको समृद्धि र विकास हारेको छ । कम्युनिस्टले देश हराएका छन् ।’

कांग्रेस नेता खतिवडाले तीन वर्षको अवधीमा नेपाली जनताको पक्षमा कम्युनिस्टहरूले एउटा पनि काम नभएको बताएका छन् । उनले सत्तामा गइसकेपछि आफ्नै पार्टी व्यवस्थापन गर्न नसकेर धोका दिने काम नेकपा भन्ने पार्टीले गरेको बताएका छन् ।

‘नेकपा आज दुई टुक्रा हुन पुगेको छ । कम्युनिस्टले जहिले पनि जनतालाई ढाँटको राजनीति गर्ने काम गरेको छ’, उनले भने, ‘अहिले दुईतिहाइको सरकारको थियो । कसैले पनि काम गर्न अबरोध गरेको थिएन । कांग्रेसले नेपाल बन्द, आन्दोलन, आमहड्ताल, संसदमा ब्रिफकेश खोस्ने काम गरेन ।’

‘तीन वर्षमा रेल, पानीजहाज, घरघरमा ग्यासको पाइप जोड्ने गफ दिएर सत्तामा गए । तीन वर्षमा एउटा पनि काम नगरेर नेपाली जनतालाई धोका दिने काम भएको छ’, खतिवडाले भने, ‘अब कम्युनिस्टलाई भोट दिने होइन । कम्युनिस्टलाई हराएर कांग्रेसलाई जिताउन अपील गर्न जनताको माझमा आएका छौँ ।’

‘कांग्रेसले विद्यार्थीलाई बम पड्काएर मारेन, खानेपानीको पाइप काटेनौँ, लुटेनौँ’, उनले भने, ‘जनतालाई ढाट्ने पार्टीबाट मुक्ति दिलाउने पार्टी कांग्रेस हो ।’

‘हामीले राणा, पञ्चायत, राजा हटायौँ । कांग्रेसले जनताका अधिकारलाई स्थापित गरेको छ । हामीले संविधान बनायौँ । सबैको पक्षमा संविधान बनायौँ’, उनले भनेका छन् ।

‘राष्ट्रियताको कुरा गर्नेहरू । जनताको दुईतिहाइको मतबाट सरकारका पुग्नेहरू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा आउँदा नेपाली दौरासुवाल लगाउन सक्ने । हाम्रा प्रधानमन्त्री केपी ओली भारतीय प्रधानमन्त्रीले जे लगायो त्यही लगाउने ! राष्ट्रवादी कम्युनिस्ट होइन, कांग्रेस हो राष्ट्रवादी’, उनले भनेका छन् ।

उनले भनेका छन्, ‘पहिला नेपालमा नेपाली मुद्रा चल्दैन थियो । कांग्रेसले पहिलो पटक नेपाली मुद्रा चलाउने काम गरेको हो । नेपालको राष्ट्रियताको बारेमा हामीले कहिल्यै घुँडा टेकेनौँ ।’

‘कांग्रेसलाई जनताले दिएको जिम्मेवारी पूरा गरेको छ । अरु पार्टीको हालत तपाईहरूले देखनुभएको छ’, उनले भने, ‘कांग्रेसले वीपी कोइरालाको तस्वीरमा माल्यार्णपन गरेका छौँ । राणा हटायो, जनताको अधिकार स्थापित गरेको छ । कम्युनिस्टले दाह्री पालेका विदेशीलाई माल्यार्णपन गर्छन् ।’

खतिवडाले भने, ‘कांग्रेस नेपाली जनताले छोराछोरीले बनाएको पार्टी हो । विदेशी नेताको नाममा पार्टी राख्नेहरू कम्युनिस्ट हुन् ।’

कार्यक्रममा महामन्त्री डा.शशांक कोइराला, दीपक गिरी, महालक्ष्मी उपाध्याय ‘डिना’, धनराज गुरुङ, रामकृष्ण यादव, लक्ष्मी परियार, विजय बस्नेत, मोहन बराल, हेरम्बर बस्नेत, मोहन थापालगायत हजारौँ कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 April 16, 10:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया