निर्वाचनको तयारीमा लाग्न डा.महतको निर्देशन, एमाले–माओवादीका नेताहरूलाई कांग्रेसमा स्वागत

कोहलपुर । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले कांग्रेसको नेतृत्वमा सरकार बनाउन पहल भइरहेको बताएका छन् ।

रमजान पर्वतको अवसरमा आयोजित नेपाली कांग्रेस कोहलपुर नगर समितिको शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेससँग संख्या नभए पनि अन्य दलहरूलाई मिलाएर सरकार बनाउन प्रयास गरिरहेको बताए । उनले कम्युनिस्ट सरकारका कारण मुलुकमा बेथिति, अराजकता, भ्रष्टाचार चरम अवस्थामा पुगेको भन्दै केपी ओलीको बिकल्प खोज्नुपर्ने बताए ।

‘ओली सरकारको बिकल्पमा गएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाऔँ भनेर पहल गरेका हौँ’, उनले भने, ‘यसको ठोस निष्कर्ष आएको छैन । हामीसँग संख्या छैन । संख्या पु¥याएर कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रयासमा छौँ ।’

‘जे भए पनि कांग्रेस आउने निर्वाचनको लागि तयारी अवस्थामा छ । मुलुकमा ढिलो चाँढो निर्वाचन हुन्छ’, सह–महामन्त्री डा.महतले भने, ‘हाम्रै नेतृत्वमा सरकार बन्छ वा कांग्रेसको नेतृत्व नभए पनि निर्वाचनमा चाँडै जान्छौं । निर्वाचनको लागि तयार रहौं ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले कम्युनिस्टहरूले लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पार्ने कार्यहरू गरिरहेको बताएका छन् ।

‘चरम भ्रष्टाचारको बाटोमा देश गएको छ । निर्वाचनका बेला कम्युनिस्टले सपना बाँडे । बहुमत ल्याए’, उनले भने, ‘जनतासँग बोलेका कुराभन्दा ठीक उल्टो बाटोमा जाँदा जनता निरासाको स्थितिमा छन् ।’

डा.महतले सरकारले समयमा उचित व्यवस्थापन र तयारी गर्न नसक्दा कोरोनाको महामारी पुनः बढेको बताए । उनले कोरोनाबाट बच्नका लागि मास्क लगाउने, दुरी कायम गर्ने, साबुन पानीले हात धुनेलगायतका जनस्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरेका छन् ।

उनले भने, ‘कम्युनिस्ट सरकारको कमीकमजोरीले फेरि कोरोनाको महामारी विस्तार भइरहेको छ ।’ डा.महतले कोरोना रोकथाम, उपचार र पूर्वतयारी गर्न सरकारलाई कांग्रेसले दवाव दिएको पनि बताएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहितले कांग्रेसलाई अबको निर्वाचनमा बहुमत दिलाउने गरेर संगठन निर्माणको काम गर्नुपर्ने दायित्व आएको बताए । उनले निर्वाचनबाट बहुमत ल्याएर कांग्रेसले एकलौटी सरकार बनाएर मुलुकको विकास गर्ने बताए ।

यसैबीच, कार्यक्रममा एमाले र माओवादी केन्द्रका जिल्लास्तरीय नेतासहित २ सयभन्दा धेरै कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

माओवादीका नेता सुरेश थारु, खुमबहादुर खत्रीसहितका नेता कार्यकर्तालाई सह–महामन्त्री डा.महतले कांग्रेसमा स्वागत गरेका हुन् । डा.महतले नवप्रवेशीहरूलाई कांग्रेसले उचित मूल्यांकन गरेर जिम्मेवारी दिने आश्वासन समेत दिए ।

नवप्रवेशीहरूले कम्युनिस्टको भ्रम र जालझेलमा परेर आफूहरू एमाले र माओवादी बनेको भन्दै अबका दिनमा कांग्रेसमा रहेर देश र जनताको सेवा गर्ने प्रतिवद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस बाँकेका उप–सभापति फुलाराम थारु, क्षेत्रीय सभपाति माधव खत्रीसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 April 15, 5:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया