ओलीभन्दा दुई कदम चतुर देखिए चेला, कम्युनिस्टले औकात देखाइ छाडे

पोखरा । नेपाली कांग्रेससहितका दलहरूले एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर हटाउने तयारी गरेपछि गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

मुख्यमन्त्री गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्य राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको हो । अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ ।

बिहीबार साढे १० बजे अधिवेशन अन्त्य सम्बन्धी सूचना संसदमा आइपुगेको प्रदेश सभाका सचिव हरिराज पोखरेलले जानकारी दिएका छन् ।

अविश्वासको प्रस्ताव आउने देखेपछि एमालेका नेता समेत रहेका मुख्यमन्त्री गुरूङले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्र मानिने मुख्यमन्त्री गुरुङले पद फुत्किने भएपछि अविश्वासको प्रस्ताव छल्न प्रदेश सभा अन्त्यको सिफारिस गरेको कांग्रेसले आरोप लगाएको छ ।

कांग्रेसले कम्युनिस्टहरू पदका लागि कसरी मरिमेटेर लाग्छन् भन्ने कुराको प्रमाण मुख्यमन्त्री गुरुङले प्रदेश सभा अन्त्य भएको सिफारिस गरेर कम्युनिस्टको अनुदारवादी र अधिनायकवादी चरित्र देखाएको आरोप लगाएको छ ।

मुख्यमन्त्री पद बचाउन गुरुङले प्रदेश सभा अन्त्य गरेपछि बजेट अधिवेशन नजिक भएकाले उनलाई सजिलो भने छैन । चैत २५ गतेदेखि विधेयक अधिवेशन शुरू भएको थियो । ३ दिन चलेको संसद ६ गतेसम्मका लागि स्थगित थियो ।

मुख्यमन्त्री गुरुङ नेतृत्वको गण्डकी सरकार सबैभन्दा सुरक्षित मानिएको थियो । कांग्रेससहितका दलहरूले सरकार बनाउने सहमति गरेर अगाडि बढेपछि गुरुङलाई तनाब भएको छ । गुरुङलाई भन्दा पनि प्रधानमन्त्री ओलीलाई धेरै तनाब भएको छ ।

राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङलाई बचाउने गरी बोलिरहेका थिए । जमोर्चाका अर्का सांसद पियारी थापाले कुनै पनि हालतमा गुरुङको सरकारलाई साथ दिन नसक्ने बताइरहेकी थिइन् ।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कुनै पनि हालतमा अहिलेको सरकारलाई समर्थन गर्न नसकिने र अविश्वासको प्रस्तावमा हस्ताक्षर नै गरेर जाने बताएका थिए ।

जनमोर्चाका अध्यक्ष केसीले बुधबार गण्डकी प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय सार्वजनिक गरेका थिए । त्यसपछि मुख्यमन्त्री गुरुङको सरकार ढल्ने पक्का भएको छ ।

अविश्वासको प्रस्ताव दर्ता गराउन २५ प्रतिशत संख्याको हस्ताक्षर भए पुग्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् ।
कांग्रेस १५, माओवादी १२, जनमोर्चा ३ र जसपाका २ सांसद गण्डकी प्रदेश सभामा छन् ।

नयाँ सरकार गठनको पक्षमा उभिएका दललाई जनमोर्चाले पनि साथ दिएपछि सदस्य संख्या ३२ पुग्छ । माओवादीका एक जना सांसद सभामुख भएकाले मुख्यमन्त्री गुरुङको विपक्षमा बहुमत ३१ जना पुग्ने भएको छ ।

Published : Thursday, 2021 April 15, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया