ओलीलाई मन पर्ने मुख्यमन्त्रीको पद डिलमै पुग्यो, बहुमतसहित कांग्रेसलाई सरकार बनाउन बाटो खुल्यो

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएको छ ।

एमालेका पृथ्वी सुब्बा गुरुङ गण्डकी प्रदेशमा मुख्यमन्त्री छन् । गुरुङ एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओली निकटका हुन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन साथ दिने तर, एमालेलाई साथ नदिने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा अध्यक्ष केसीले कांग्रेसले सरकार बनाउन पहल गरेमा सहयोग गर्न सकिने संकेत गरे ।

तीन वर्षसम्म नेकपा अर्थात मुख्यमन्त्री गुरुङलाई समर्थन दिँदा कुनै विकास र प्रगति हुन नसकेको केसीले आरोप लगाए ।

‘तीन वर्ष काँध थापियो । गण्डकीमा समर्थन फिर्ता हुन्छ । नयाँ सरकार बन्छ’, अध्यक्ष केसीले भने, ‘राष्ट्रिय जनमोर्चा सरकारमा जान्न । चित्त बुझ्यो भने समर्थन गर्छ ।’

‘नेकपानै धरापमा परेको छ । मान्छेहरू किन बेच गर्ने दुर्गन्धित खेल गरेका छन्’, केसीले भने, ‘असंवैधानिक, अलोकतान्त्रिक काम गर्ने मान्छेहरू सत्तामा बस्न पाइँदैन । प्रतिगामीलाई जनमोर्चाले समर्थन गर्दैन ।’

उनले भनेका छन्, ‘कसैले कानेखुसी गर्दैमा चित्रबहादुर केसी जान्न । कसैले फकाएर, पद दिएर जान्न । राष्ट्रिय जनमोर्चा बिकाउ पार्टी होइन ।’

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघठन गर्दा राष्ट्रिय जनमोर्चाले प्रतिगमन र असंवैधानिक कार्य गरेको भन्दै विरोध जनाएको थियो । ओलीको अलोकतान्त्रिक र असंवैधानिक कदमहरूको जनमोर्चाले विरोध गर्दै आएको छ ।

गण्डकी प्रदेशमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ । राष्ट्रिय जनमोर्चाको समर्थन रहँदासम्म एमालेको प्रदेश सरकार रहनेछ । जनमोर्चाले समर्थन फिर्ता लिनेवित्तिकै मुख्यमन्त्री गुरुङको सरकार ढल्नेछ ।

नेपाली कांग्रेसले गण्डकी प्रदेशमा सरकार बनाउन गृहकार्य गरिरहेको छ । कांग्रेसले औपचारिक रुपमा नयाँ सरकार बनाउन पहल नगरे पनि अनौपचारिक रुपमा दलहरूसँग सम्वाद गरिरहेको छ ।

कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी मिलेर सरकार बनाउन अनौपचारिक प्रयासहरू भइरहेका छन् ।

नयाँ वर्ष २०७८ सालको पहिलो दिननै जनमोर्चाका अध्यक्ष केसीले एमाले र ओली सरकारविरुद्ध अभिव्यक्ति दिएपछि बालुवाटारलाई तनाब बढेको छ ।

Published : Wednesday, 2021 April 14, 10:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया