बुढानिकलण्ठले ओली र ठाकुरलाई तनाब बढाइदियो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेताद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

काठमाडौंको बुढानिकलण्ठस्थित देउवा निवासमा तीन शीर्ष नेताहरूका बीच नयाँ सरकार र अविश्वासको प्रस्तावका विषयमा छलफल भएको हो । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले तीन शीर्ष नेताहरूबीच सम्वाद भएको पुष्टि गरे पनि के कुराकानी भएको हो भन्न चाहेनन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेर सरकारमा जाने इच्छा देखाएका छन् । ओलीसँग ठाकुरले निकै हिमचिम बढाएका बेला जसपाका नेताद्वय यादव र भट्टराईले देउवासँग भेट गरेका छन् ।

ठाकुरले ओलीसँग मिलेर सरकार बनाउन अन्तिम गृहकार्य गरिरहेका बेला देउवासँग यादव र भट्टराईले भेटेर गम्भीर सम्वाद गरेका हुन् ।

यादव र भट्टराई कांग्रेससँग सहकार्य गरेर ओलीविरुद्धको नयाँ गठबन्धन बनाउने पक्षमा छन् । तर, ठाकुरले कांग्रेससँग सहकार्य गर्न इच्छा देखाएका छैनन् । ठाकुरले कांग्रेस र देउवाविरुद्ध विभिन्न आक्षेपहरू लगाउने गरेका छन् ।

सरकारमा सहभागिताको विषयलाई लिएर जसपा विभाजन हुन सक्ने समाचार आइरहेका छन् । पार्टी विभाजन हुने कुरामा जसपाका नेताहरूले अस्वीकार गर्ने गरेका छन् ।

ओलीलाई भेट्न ठाकुरले राजेन्द्र महतोलाई लिएर जाने गरेका छन् । ओलीलाई भेट्न यादव र भट्टराई जाँदैनन् ।

यादव र भट्टराईले बरु कांग्रेसका सभापति देउवासँग अलिक धेरै सम्बन्ध बाक्लो बनाएका छन् । देउवालाई भेट्न ठाकुरले रुचि देखाउने गरेका छैनन् ।

Published : Tuesday, 2021 April 13, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया