कोरोना बढेपछि चिन्तित बन्यो कांग्रेस, जनताको जीवन बचाउन दियो सुझावहरू

काठमाडौं । नेपाली कांग्रेसको कोभिड–१९ अनुगमन समितिले कोरोनाभाइरसबाट संक्रमित गम्भीर बिरामीहरूको बढ्दो संख्यालाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसका सह–महामन्त्री एवम् समितिका संयोजक डा.प्रकाशशरण महतले मंगलबार विज्ञप्ति जारी गरेर अन्तर्राष्ट्रिय उडानबाट आउनेहरू र सीमा नाकाबाट आउनेहरूलाई व्यवस्थित चेक जाँच र क्वारेन्टाइनको व्यवस्था सुनिश्चित गर्न सुझाव दिएका छन् ।

‘कन्ट्रयाक्ट ट्रेसिङलाई प्रभावकारी बनाई सम्भावित संक्रमितहरूलाई लक्षित गरी पीसीआरको परीक्षण दायरालाई व्यापक गरियोस्’, डा.महतले भनेका छन् ।

‘कोभिड—१९ को विरुद्ध आम जनतालाई खोप पुर्‍याउने कामलाई स्पष्ट कार्ययोजना सहित अगाडि बढाइयोस्’, डा.महतले भनेका छन्, ‘खोप आपूर्ति सुनिश्चित गर्न उच्च कुटनैतिक पहल गरियोस् ।’

सह–महामन्त्री डा.महतले स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिने घोषणा गरेर पनि सरकारले कार्यान्वयन नगरेको भन्दै भत्ता तत्काल उपलब्ध गराउन माग गरेका छन् । ‘यसले गर्दा स्वास्थ्यकर्मीहरूको मनोवल खस्किएको छ’, उनले भने, ‘स्वास्थ्यकर्मीहरूको बीमा र जोखिम भत्तालाई तत्काल कार्यान्वयनमा ल्याइयोस् ।’

‘अस्पतालहरूमा स्वास्थ्यकर्मीहरूको संख्यामा देखिएको कमीलाई ध्यानमा राखी आवश्यक स्वास्थ्यकर्मीहरूको व्यवस्था तत्काल गरियोस्’, डा.महतले भनेका छन् ।

‘पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारी रवैयाको भर्त्सना गर्दै तत्काल प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था सुनिश्चित गर्न माग गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

‘देशले फेरि लकडाउनको अवस्था धान्न सक्दैन । यस परिस्थितिमा हरेक व्यक्तिले मास्क अनिवार्य लगाउने र भौतिक दुरीमा जोड दिने व्यवस्थालाई कार्यान्वयन गर्न सरकारसँग माग गर्दछ’, डा.महतले भनेका छन् ।

‘कार्यालय तथा अन्य कार्यस्थलमा स्वास्थ्य मापदण्ड सुनिश्चित गर्ने र अनुगमनलाई मजवुत गर्न समेत माग गर्दछौं’, कांग्रेसले भनेको छ ।

डा.महतले भनेका छन्, ‘समग्रमा कोभिड—१९ को रोकथाम र उपचारका सम्बन्धमा कुरा मात्र गर्ने काम नगर्ने प्रवृत्ति छोड्न सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं ।’

‘कोभिडको कारण २०७८ संकटपूर्ण हुन नदिन स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूलाई अनिवार्य मास्क लगाउने, सेनेटाइजर र सावुन पानीको प्रयोग गरी हात सफाईमा ध्यान राख्ने र भौतिक दुरी कायम गर्दै संक्रमणको जोखिमलाई कम गर्न अनुरोध गर्दै नयाँ वर्ष २०७८ को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौं’, विज्ञप्तिमा उल्लेख छ ।

कोभिड—१९ को कू–व्यवस्थापन, चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरिदमा भएको व्यापक भष्ट्राचारको नेपाली कांग्रेसले निरन्तर विरोध गर्दै आएको जनाएको छ ।

‘कोभिड—१९ को संक्रमण कम हुँदै गए पनि फेरि संक्रमण विस्तार हुन सक्ने र विश्वका अन्य देशहरुमा देखिएका कोभिड–१९ को नयाँ भेरियन्ट नेपालमा प्रवेश गर्ने सम्भावनाप्रति सरकार उदासिन भएका कारण अहिले फेरि कोभिड—१९ को संक्रमण फैलदो छ’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

‘अहिले संक्रमितको संख्या ह्वातै बढेको छ भने गम्भीर बिरामी भएर आइसियुमा बस्नु पर्ने बिरामीहरूको संख्या र मृतकको संख्या पनि बढ्दो छ’, कांग्रेसले भनेको छ ।

Published : Tuesday, 2021 April 13, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया