१४औँ महाधिवेशनको तयारीबारे छलफल, देउवा–पौडेल अनुपस्थित, केन्द्रीय समितिको एजेण्ड तयार

काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनको तयारीका विषयमा छलफल गरेको छ ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आइतबार बसेको पदाधिकारीको बैठकमा १४औँ महाधिवेशनको तयारीका बारेमा छलफल भएको सह–महामन्त्री डा.प्रकाशशरण महतले जानकारी दिए ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौ महिनामा हुँदैछ । कांग्रेसले क्रियाशील सदस्यताको कामलाई धमाधम टुंगो लगाइरहेको छ । केही जिल्लामा विवाद छ । त्यो विवादलाई पनि मिलाएर कांग्रेसले अधिवेशन तोकिएकै समयमा गर्ने सह–महामन्त्री डा.महतले बताए ।

बैठकमा कांग्रेसको नेतृत्वमा सरकार बनाउन भइरहेको पहलका विषयमा पनि सामान्य छलफल भएको छ ।

बैठकले सोमबार बस्ने केन्द्रीय कार्यसमितिको एजेण्डाहरू पनि तयार पारेको छ । पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल अनुपस्थित रहेका थिए ।

कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरिसकेको छ । कांग्रेसलाई सरकार बनाउन आवश्यक बहुमत पुगेको छैन । कांग्रेसले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)लाई साथमा लिएर सरकार बनाउन खोजेको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुर समूहले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई साथ दिन खोजेका छन् । ओलीसँग ठाकुरको हिमचिम बढेको छ ।

Published : Sunday, 2021 April 11, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया