प्रदेश २ मा ओलीको अलिक धेरै चुरीफुरी, बिकेट झार्न २४ घण्टे स्पष्टीकरण

जनकपुरधाम । माओवादी केन्द्रले प्रदेश २ मा भरत साहलाई संसदीय दलको नेता बनाएको छ ।

काठमाडौंको बोटेश्वरस्थित पेरिसडाँडामा आइतबार बसेको बैठकले दलको उप–नेतामा जगत यादवलाई जिम्मेवारी माओवादीले दिएको छ ।

प्रमुख सचेतकमा दिलीप साह र सचेतकको जिम्मेवारी रुवि कर्णले पाएकी छिन् ।

एमालेसँग एकीकरण हुनु अगाडि माओवादीको संसदीय दलको नेता रामचन्द्र मण्डल थिए ।

पुस ५ मा प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रतिनिधिसभा विघटन गरेपछि मण्डल ओली समूहमा लागेका थिए । ओलीले प्रदेश २ मा माओवादीका सांसदलाई आफूतिर तानेपछि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ती सांसदलाई हटाएर पद खाइदिन थालेका छन् । प्रचण्डले यसअघि ओलीतिर लागेका प्रतिनिधि सभा सांसद टोपबहादुर रायमाझीसहितका नेताहरूको पद उडाइदिइसकेका छन् ।

मण्डलबाट जिम्मेवारी खोसेर माओवादी केन्द्रले भरत साहलाई दिएको छ । ओली समूहमा लागेका मण्डलसहित चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयसमेत माओवादीले गरेको छ ।

मण्डलसहित कुन्दन साह, ज्वाला साह र मो.समीर अन्सारी माओवादीलाई छाडेर ओली समूहको एमालेमा लागेका छन् ।

ओलीतिर लागेका चार जनालाई स्पष्टीकरण सोधेर प्रक्रिया पूरा गरी सांसदबाट हटाउने तयारी माओवादीले गरेको जनाएको छ । उनीहरूव सबैलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

रामचन्द्र मण्डल धनुषा १ ‘ख’बाट निर्वाचित प्रदेशसभा सांसद हुन् । ज्वालाकुमारी साह बारा क्षेत्र नम्बर ३ ‘क’बाट निर्वाचित हुन् । कुन्दनप्रसाद कुशवाह रौतहट ३ ‘ख’बाट निर्वाचित भएका थिए । उनीहरू सबै एमाले बनेका छन् । बाराबाट समानुपातिकतर्फ निर्वाचित मोहम्मद समिर पनि एमाले बनेका छन् ।

प्रदेश २ मा माओवादीका ११ सांसद छन् । प्रदेश सभाको पाँचौँ अधिवेशनको पहिलो बैठक चैत ३० गते सोमबार दिनको १ बजे आह्वान गरिएको छ । यो बैठक ६ महिनापछि बस्न लागेको छ ।

Published : Sunday, 2021 April 11, 4:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया