व्यक्ति होइन, पार्टी बलियो बनाउन स्वाभिमानी कांग्रेस बन्नुस्ः डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महमन्त्री डा.प्रकाशशरण महतले स्वाभिमान कांग्रेस बन्न अपील गरेका छन् ।

काठमाडौंमा शनिबार एञ्जिलिना शिवशक्ति ट्रष्टको कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले कांग्रेस पार्टीलाई बलियो बनाउन स्वाभिमानी हुनुपर्ने बताए । उनले सिनियर नेताहरूको सम्मान भयो भने मात्रै कांग्रेस बलियो हुने बताए ।

‘स्वाभिमानी कांग्रेस बन्न मेरो अपील छ । स्वाभिमानी कांग्रेस बन्ने हो भने नेताहरूको गल्ती औँल्याइदिनुपर्छ’, उनले भने, ‘कार्यकर्ताले नेताहरूलाई सुधार गर्न भन्नुपर्छ । स्वाभिमान कांग्रेस बन्न अनुरोध गर्छु ।’

सह–महमन्त्री डा.महतले निर्वाचनमा जितेर आएर कांग्रेसले एकलौटी सरकार बनाउने बताएका छन् । उनले कम्युनिस्टलाई हराएर कांग्रेसले जित्नुपर्ने बताए ।

सरकारमा जाने विषयमा उनले भने, ‘पहिला सरकारमा जानै हुँदैन भने । अहिले आएर सरकारमा जाने भनेका छन् । लड्डु कांग्रेस भने । पछिल्लो समय जानैपर्छ । जानैपर्छ भनेका छन् । पहिला जानै हुँदैन । सरकारमा जान संख्या चाहिन्छ ।’

डा.महतले कांग्रेसको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको बताउँदै वार्ता शुरु गरेको बताए । बैकल्पिक सरकार कांग्रेस नेतृत्वमा बनाउन संख्या आवश्यक रहेको भन्दै डा.महतले शुक्रबारबाट छलफल शुरु भएको बताएका छन् ।

उनले संख्याका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था नरहेको बताए । ‘जसपाले ओलीसँग पनि कुरा गरेका छौँ’, उनले भने, ‘खुट्टा बाँधेर सरकारमा जाने हो भने अबको निर्वाचनमा जाँदा प्रतिरक्षात्मक अवस्थामा पुग्छौँ । हातखुट्टा बाँधेर सरकारमा जाने पक्षमा छैनौँ ।’ डा.महतले जसपाका कारण कांग्रेसको नेतृत्वमा सरकार बन्ने विषयमा आफूलाई शंका रहेको बताए ।

नुवाकोट कांग्रेसको विवादलाई संकेत गर्दै डा.महतले भने, ‘मिल्नुपर्छ मात्रै भनेर समाधान हुँदैन । कसले समस्या ग¥यो त्यसलाई नजरअन्दाज गर्नु हुँदैन ।’

‘मैले समस्या गरेको छु भने मलाई भन्नुपर्छ । जसले गरिरहेको छ त्यसलाई भन्नुपर्छ । पार्टीमा बिग्रह र बिडम्बनाको समस्या रहँदैन’, उनले भने, ‘व्यक्ति केन्द्रितबाट पार्टी र सिद्धान्तको राजनीतिमा प्रवेश गरौँ । त्यसको लागि हामी तयार छौँ कि छैनौँ ? व्यक्तिलाई मान्ने व्यवस्था त पञ्चायतमा नै थियो । त्यो पद्धतिको खिलापमा हामी उठेर विचार, पद्धति र संगठनमा उभिएका हौँ ।’

नुवाकोट कांग्रेसले गर्ने कार्यक्रममा आफूलाई निम्तो नै नदिएका कारण कार्यक्रममा नआएको उनले बताएका छन् ।

‘कार्यक्रममा को आयो आएन भन्ने कुरा छ । जिल्लामा पार्टीको कार्यक्रम भयो । जिल्लामा केन्द्रीय सभापति जानुभयो । त्यो कार्यक्रममा मलाई बोलाइएको थिएन’, उनले भने, ‘मैले कार्यक्रम बहिस्कार गरेको होइन । दुई वटा क्षेत्रले चौघडामा राखेको कार्यक्रममा सबै नेतालाई बोलाइएको थियो । मलाई पनि बोलाइएको थियो । म गएँ ।’

डा.महतले भने, ‘नबोलाएको ठाउँमा जबरजस्ती नगएको हो । पार्टीको हरेक सबै कार्यक्रममा बोलाउनु पर्दैन । पार्टी सभापति गएको कार्यक्रममा बोलाइएन ।’

डा.महतले आफूले नुवाकोट जिल्लाको राजनीति नछाडेको बताएका छन् ।

‘मेरो क्रियाशील सदस्यता नुवाकोटमा छ । मैले नुवाकोटको राजनीति छोडेको छैन’, उनले भने, ‘कसैलाई छोडोस् भन्ने इच्छाले राजनीति अगाडि बढाउने हो भने पार्टी कसरी बलियो हुन्छ ?’

‘म आफ्नो सिनियरहरूलाई सम्मान गर्ने व्यक्ति हो । मेरो क्षमता योग्यता कम भएर नुवाकोटमा टिकट नलिएको होइन’, उनले भने, ‘टिकटका लागि जोरजर्बजस्ती गरेको भए टिकट पाउने थिएँ । मेरो उमेरभन्दा उहाँको ज्यादा छ । सम्मान गर्ने संस्कार मेरो छ । सम्मान स्वरुप मैले चुनाव नलडेको हो ।’

‘म समानुपातिकमा पनि सांसद हुन सक्थे । हारे पनि जिते पनि प्रत्यक्ष निर्वाचन लड्छु भनेर काठमाडौं आएको हो । म भागेको होइन । भाग्ने मान्छे पनि होइन’, सह–महामन्त्री डा.महतले भने, ‘जसले आफूभन्दा सिनियरलाई सम्मान गर्न जान्दैन त्यसले कांग्रेसको संस्कृति, इतिहाँस बुझेको छैन ।’

‘काठमाडौंमा पनि जिल्ला सम्पर्क समितिले कार्यक्रम राख्यो । मलाई बोलाइएन’, उनले भने, ‘विधि, विधान र सम्मानलाई अक्षरंश पालना गर्ने संस्कार छ । त्यसलाई पालना गरे मात्रै नुवाकोटमा पार्टी बलियो हुन्छ । सबै बलियो हुने हो । पार्टी कमजोर गरेर म बलियो हुन्छु भन्ने लाग्यो भने त्यो समाप्त हुन्छ ।’

डा.महतले आफूमा कुनै पनि प्रकारको अहँकार नरहेको बताएका छन् । ‘मलाई अहँकार छैन । अहंकार बोकेर हामी कहिँ पनि पुग्दैनौँ’, उनले भने, ‘कार्यक्रममा सह–महमन्त्री भएकाले पछाडि बोल्नुछैन । सिनियर नेता तपाईहरू पछाडि बोल्नुस । म अगाडि बोल्छु भनेर चौघडाको कार्यक्रममा भनेको थिएँ ।’

‘केन्द्रीय समितिको बैठक बस्नुभन्दा अगाडि दशौँ पटक बैठक बसेर सहमति बनाएर बैठक बस्छौँ’, उनले भने, ‘साना–साना पार्टी खोलेर सभापति घोषणा गरे भइहाल्यो नि ! देशमा धेरै पार्टी छन् । म एक्लै सभापति हुन्छु भनेर हिँडेकै छन् ।’

उनले भनेका छन्, ‘वरिष्ठलाई सम्मान गरेपछि मात्रै नुवाकोट कांग्रेस बलियो हुन्छ । मेरो कारणबाट कसैलाई अपमान हुँदैन । मेरो कारणबाट संगठनलाई कमजोर हुँदैन ।’

‘उपयोग गरेर फाल भन्ने जानेको छैन । मै मात्रै बनु भन्ने छैन । नुवाकोटमा कसले कसलाई अगाडि बढाएको छ हेरे हुन्छ’, डा.महतले भनेका छन् ।

डा.महतले भदौमा हुने १४औँ महाधिवेशनका लागि केन्द्रित हुन निर्देशन दिएका छन् ।

‘असार ५ गते वडाबाट अधिवेशन शुरु हुँदैछ । भदौ ७ देखि १० गतेसम्म १४औँ महाधिवेशन हुँदैछ । स्वाभिमान र सम्मानलाई केन्द्रमा राखेर काम गरेकालाई अवसरबाट बञ्चित गर्नु हुँदैन’, उनले भनेका छन् ।

‘क्रियाशील सदस्यताको टुंगो क्षेत्रले गर्ने हो । जिल्लालाई जानकारी मात्रै दिने हो’, सह–महामन्त्री डा.महतले भनेका छन् ।

Published : Saturday, 2021 April 10, 7:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया