बालुवाटार बक्सिङ खेलेर दुषित भयो, कांग्रेसले खेलाडीका लागि कार्ययोजना बनाउँछः बस्नेत

चापागाउँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले बालुवाटारभित्र बक्सिङ खेलको विकृति भइरहेको बताएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकाको चापागाउँमा शनिबार वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले खेलकुदमा जसरी राजनीतिमा पनि नेताहरूमा अनुशासन हुने हो भने आधाभन्दा धेरै समस्या समाधान हुने बताए । उनले भने, ‘बालुवाटारमा बक्सिङ खेलको विकृति भइरहेको छ । हार र जितलाई सहज रुपमा लिने हो भने आधा राजनीतिको विकृति समाप्त हुन्छ ।’

पूर्वमन्त्री समेत रहेका विभागका प्रमुख बस्नेतले कांग्रेसले खेलाडीलाई जीवनयापन गर्न सहज होस् भनेर ठूला कम्पनीहरूलाई खेलाडीलाई ब्राण्ड एम्बेसडर बनाएर तलब, भत्ताका लागि अनुरोध गर्ने बताए । ‘कांग्रेसले ठूला कम्पनीहरूसँग अनुरोध गरेर एक–एक जना महिला र पुरुषलाई कम्तीमा मासिक २५ हजार पाउने गरेर ब्राण्ड एम्बेसडरका लागि पहल गर्नेछौँ’, बस्नेतले भनेका छन् ।

खेलकुदका माध्यमबाट युवाहरू सक्रिय बनाउन सकियो भने कांग्रेसलाई कुनै ताकतले हराउन नसक्ने बस्नेतले बताए । ‘खेलाडी उपत्पादन गर्ने र युवा परिचालन गरेर जाने हो भने कांग्रेस बलियो हुन्छ’, उनले भनेका छन् ।

सरकारले कोरोनाको महामारी देखाएर दाङको टेबुल टेनिस प्रतियोगिता रोकेको भन्दै कांग्रेस नेता बस्नेतले भने, ‘कांग्रेसको कार्यक्रम रोकेकै दिन प्रधानमन्त्रीले रंगशालामा फुटबल गराउनुभयो । कांग्रेसलाई रोकेर आफूले मात्रै गतिविधि गर्ने हो भने हामीलाई मान्य छैन ।’ बस्नेतले सरकारले सबै नागरिकलाई बराबरीको व्यवहार गर्न चेतावनी दिएका छन् ।

नेता बस्नेतले खेलकुद र खेलाडीका विषयमा कार्ययोजना बनाएर विभागका तर्फबाट कांग्रेसलाई बुझाउने बताए । ‘खेलकुदको भावना कांग्रेसले बुझ्नुपर्छ । हामीले खेलकुदमा कुरा जोडदार रुपमा राख्नेछौँ’, उनले भनेका छन् ।

‘खेलकुदलाई बुझ्न र जान्न सकेनौँ भने देशमा सम्मान हुँदैन’, उनले भने, ‘खेलाडीको सामाजिक सुरक्षामा ध्यान दिनुपर्छ ।’

‘साग गेममा सरकार र कसैले पनि अपेक्षा नगरेको मेडल खेलाडीले जितेर ल्याइदिए’, बस्नेतले भने, ‘खेलाडीलाई अलिकति ध्यान दिने हो भने धेरै गर्न सक्छौँ । साउथ एसिया होइन संसारभरि खेलमा जित्नेछौँ ।’

‘कहिले नक्सा सार्वजनिक गर्छन् । पढ्न दिँदैनन् । सगरमाथाको नामले चिनिन्छ’, उनले भने, ‘त्यो सगरमाथा पनि कहिले यता कहिले उता भएको छ ।’

कांग्रेस नेता बस्नेतले खेलकुदमा भएकाहरूलाई सक्रिया बनाउने बताए । उनले भने, ‘खेलकुद खिया लागेको अवस्थामा छन् । कार्यक्रम र बजेटनै छैन । कांग्रेसको ध्यान खेलकुद क्षेत्रमा हुनेछ ।’

उनले देशभरि कतै न कतै कांग्रेसका नेताहरूको नाममा प्रतियोगिता गरिरहेन खेलकुद विभागको उदेश्य रहेको बताएका छन् ।

ललितपुर जिल्लालाई खेलकुदको हब बनाउनुपर्ने भन्दै बस्नेतले भने, ‘ललितपुर जिल्लाबाट खेलकुद विभागले मीनकृष्ण महर्जनजी जस्तो नेतृत्व पाएको छ ।’

‘विमला तामाङलाई प्रशिक्षकले मोटरसाइकल बन्धक राखेर खेल्न पठाउनुभएको थियो । विमलाले नै मेडल जितेर आइन्’, उनले भने, ‘खेलकुद परिषदले पठाएकाले जित्न सकेनन् । ट्वाँ परेर आए । यस्तो हालत राष्ट्रिय खेलकुद परिषदको ।’

नेता बस्नेतले खेलाडीको हितमा कांग्रेसले मात्रै ध्यान दिने बताए । ‘ललितपुरमा सधैँ खेलकुद प्रतियोगिता गर्न सकिन्छ । झोँकै चल्यो भने हाम्रा कांग्रेसकै नेताहरू छन् । मन हुनु पर्‍यो’, बस्नेतले भने, ‘खेलकुदमा लगानी गरेर राम्रो हुन्छ । मेरो परिवारका सदस्यहरूले सिन्धुपाल्चोकमा ९ करोड खर्च गरेर भीर ताछेर फुटबैल मैदान बनायौँ । प्रतियोगिता गरेका छौँ । खेलकुदमा खेलाडीहरू सक्रिय भएका छन् ।’

Published : Saturday, 2021 April 10, 5:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया