ओलीलाई हटाउन कांग्रेस अगाडि बढ्यो, संख्या छैन, खेलकुदको विकास गर्छौंः पूर्णबहादुर खड्का

चापागाउँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री केपी ओलीलाई विस्थापित गरेर नयाँ सरकार बनाउनका लागि पहल शुरु गरेको बताएका छन् ।

ललितपुरको चापागाउँमा शनिबार वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग औपचारिक रुपमा प्रस्ताव राखिएको बताए । उनले माओवादी र जसपाले साथ दिएमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने बताए ।

‘कांग्रेसले औपचारिक रुपमा ओलीले राजीनामा गर्नुपर्छ भन्ने निर्णय गरेको छ’, उनले भने, ‘साढे तीन वर्षमा देश र दुनियाँलाइँ ओली र कम्युनिस्टहरूले दिएको निराशा, संविधानमाथिको हस्तक्षेप यावत कुरालाई अगाडि सारेर संविधानलाई च्यात्ने काम गरेकाले देशको उन्नति होइन जनतालाई निरास बनाएकोले ओलीलाई हटाएर सत्ता बाहिर रहेका दललाई मिलाएर सरकार बनाउने निर्णय कांग्रेसले गरेको छ ।’

महामन्त्री खड्काले कांग्रेससँग सरकार बनाउन आवश्यक संख्या नरहेको भन्दै माओवादी र मधेसवादी दलहरूविना सरकार बनाउन नसकिने बताए ।

‘कांग्रेससँग ६१ सिट मात्रै छ । संख्या पुग्दैन । हामीले हिजोदेखि सरकार बनाउन शुरु गरेका छौँ’, उनले भने, ‘कुरा राखेका छौँ । माओवादी र मधेसवादी दलका नेताहरूसँग कुरा राखेका छौँ । उनीहरूले माने भने कांग्रेसको नेतृत्वमा सरकार बनाउने छौँ ।’

उनले भने, ‘ओलीलाई हटाउने र सरकार परिवर्तनको कुरा चलेको छ । कांग्रेसको अगुवाइमा मधेसवादी दल र माओवादी केन्द्रको सहमतिमा नयाँ सरकार बनाउन सम्भव छ ।’

पूर्वमन्त्री समेत रहेका महामन्त्री खड्काले कांग्रेसबाट विगतमा भएका कमीकमजोरीलाई अबका दिनमा सुधार गरेर जाने प्रतिवद्धता जनाए । उनले भने, ‘कांग्रेसको तर्फबाट सरकारमा हुँदा र पार्टी चलाउँदा भएका राम्रा काम जनताका सम्पत्ति हुन् । हामीबाट गल्ती भएको रहेछ भने दोहो¥याउने छैनौँ ।’

तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले खेलाडीको विषयमा चिन्ता गरेको महामन्त्री खड्काले स्मरण गरे । उनले भने, ‘किसुनजीले खेलाडीको प्याकेज ल्याउन भन्नुभएको थियो ।’

महामन्त्री खड्काले खेलकुद विभागलाई खेलकुद र खेलाडीको विषय समेटेर कार्ययोजना ल्याउन निर्देशन समेत दिएका छन् ।

‘कांग्रेसले खेलकुद र खेलाडीलाई कसरी हेर्ने ? कसरी अगाडि बढने ? कार्ययोजना बनाउन खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतलाई अनुरोध गर्न चाहन्छु’, महामन्त्री खड्काले भनेका छन् ।

‘पार्टीले खेलकुद, खेलाडीका विषयमा गर्नुपर्ने विकासका बारेमा कार्ययोजना विभागले बनाउनुपर्नेछ । खेलकुदमा विगतका गल्ती नहोराउने गरेर जाने छौँ’, उनले भने, ‘खेलकुद र खेलाडीलाई कसरी उन्नति र प्रगति गर्नेबारेमा योजना बनाउनुपर्छ ।’

Published : Saturday, 2021 April 10, 4:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया