महन्थ ठाकुरले कुरा चपाए, कांग्रेसले बालुवाटारलाई भूकम्पको झड्का दियो

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव राखेपछि जनता समाजवादी पार्टी (जसपा)ले कांग्रेसको प्रस्तावका विषयमा निर्णय गर्न समय मागेको छ ।

सभापति शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित निवासमा शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूको बैठकमा जसपाले नयाँ सरकार गठनबारेमा पार्टीले कुनै निर्णय नगरेको भन्दै सो विषयमा निर्णय गर्न समय मागेको हो । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जसपाले कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्तावका विषयमा निर्णय गर्न समय माग गरेको जानकारी दिए । शर्माले तीन दलको बैठकमा ओली सरकारलाई विस्थापित गरेर विकल्पमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा मात्रै छलफल केन्द्रित रहेको बताए । उनले ओलीकै नेतृत्वको सरकारले निर्वाचन गर्ने भन्ने विषयमा कुनै छलफल नभएको बताए ।

कांग्रेसका प्रवक्ता शर्माले केपी ओलीको बिकल्पमा नयाँ सरकार बनाउने विषयमा औपचारिक रुपमा तीन दलका बीचमा छलफल भएको बताए । ‘केपी ओलीको सरकारलाई विदाइ गरेर नयाँ सरकार निर्माण गर्नुपर्छ भन्ने सन्दर्भमा भएको छलफल हो’, शर्माले भने, ‘नयाँ सरकार बनाउनका लागि अग्रसरता लिने निर्णय गरेका छौँ । औपचारिक रुपमा प्रस्ताव राख्छौँ । साझा ढंगले निर्णय गरौँ भन्ने हाम्रो प्रस्ताव छ ।’

सभापति देउवाले कांग्रेसको नेतृत्वमा सरकार बनाउन राखेको प्रस्तावमा माओवादी केन्द्रबाट सकारात्मक रुपमा लिएको प्रवक्ता शर्माले बताए । ‘ओलीको सरकार विदाइ गर्नुनै उपयुक्त छ’, शर्माले भने ।

‘जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादवलगायतले औपचारिक रुपमा कांग्रेसको प्रस्ताव आएको छ । हामीलाई केही समय चाहिन्छ । हामी निर्णय गर्छौं भन्नुभएको छ’, कांग्रेसका प्रवक्ता शर्माले भने, ‘जसपाले समय मागेकाले अर्को पटक बसौँ भन्नुभएको छ । जसपाका नेताले उपयुक्त निर्णय चाँडै गर्नु हुनेछ भन्ने विश्वास कांग्रेसको छ ।’

जसपाका अध्यक्ष महन्थ ठाकुरले कांग्रेसको नेतृत्वमा सरकार बनाउने विषयमा पार्टीमा कुनै निर्णय नभएको बताए । कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रस्ताव आएको भन्दै ठाकुरले सरकारका विषयमा पार्टीमा कुनै निर्णय नभएको बताए । ठाकुरले जसपाका मागहरू प्रधानमन्त्री ओलीले पूरा गर्ने चरणमा लगेको भन्दै कांग्रेसले पनि आफूहरूको माग पूरा गर्ने प्रतिवद्धता जनाएको बताए ।

माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहिलो पटक तीन दलको बैठकमा प्रस्ताव राखेको बताए । कांग्रेसको प्रस्तावमा आफूहरू सकारात्मक रहेको भन्दै प्रवक्ता श्रेष्ठले केपी ओलीको बिकल्पमा संविधान र लोकतन्त्रको रक्षा गर्ने शक्तिहरूको सरकार बनाउनुपर्ने माओवादी केन्द्र रहेको बताए ।

‘शेरबहादुर देउवाजीले नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय गरेको जानकारी गराउनुभयो । नयाँ सरकार बनाउनका निम्ति छलफल गरौँ भन्नुभयो’, श्रेष्ठले भने, ‘तपाईहरूको धारणा के छ ? भन्ने प्रस्ताव राख्नुभयो ।’

‘सामान्यतय जुन सरकार भएता पनि साँच्चै चुनाव गराउने हो भने त्यति फरक हुने स्थिति थिएन होला । तर, केपी ओली सर्वसत्तावादी भए । उनले राज्य सत्ता कब्जा गर्न खोज्दै छन्’, देउवाको भनाइ उदृत गर्दै श्रेष्ठले भनेका छन्, ‘पुलिस, सेना, कर्मचारी सारा अंगहरूलाई आफ्नो पार्टी वा आफ्नो व्यक्तिगत कमाण्डमा चलाउन खोज्दै छन् ।’

‘यस्तो सर्वसत्तावादी प्रधानमन्त्रीको हातबाट शान्तिपूर्ण चुनाव हुन सक्दैन’, उनले भने, ‘यो कोणबाट नै सोँचेर हामीले नयाँ सरकार बनाउनुपर्छ भनेका हौँ । कांग्रेसको यो प्रस्तावमाथि तपाईहरूको सहयोगको अपेक्षा गर्दै धारणा बुझ्न चाहन्छु भन्ने प्रस्ताव राख्नुभयो ।’

श्रेष्ठले भने, ‘जसपाको तर्फबाट उहाँहरूले पहिलो पटक औपचारिक रुपमा नेपाली कांग्रेसले केपीको सरकारको बिकल्पमा नयाँ सरकार बनाउने र त्यो पनि आफ्नो पार्टीको नेतृत्वमा बनाउने प्रस्ताप अगाडि सार्नुभयो ।’

‘यो प्रस्ताव अगाडि सारिसकेको सन्दर्भमा हामीले छलफल गरेर निर्णय लिनुपर्छ । अहिलेसम्म हामीले जसपाभित्र औपचारिक रुपमा छलफल गरेर कुनै निर्णय गरेका छैनाैं’, श्रेष्ठले भने, ‘अब हामीले छलफल गरेर निर्णय लिनै पर्ने स्थिति रह्यो । छिट्टै निर्णय लिने भन्नुभएको छ । आन्दोलनका मुद्धा फिर्ता लिने, बन्दी रिहा गर्ने लगायतका सर्त राख्नुभएको छ ।’

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठले भने, ‘हामीले निरंकुश क्रियाकलाप गरेकोले केपी ओलीलाई हटाएर संविधान र लोकतन्त्रलाई रक्षा गर्ने शक्तिको सरकार बन्नुपर्छ । कांग्रेसको निर्णय स्वागत गरेका छौँ । जसपाले निर्णय गरेपछि पुनः बैठक बस्ने सहमति भएको छ ।’
‘केपी ओलीको विकल्पमा सरकार बन्नुपर्छ भन्ने प्रस्ताव माओवादीको छ’, श्रेष्ठले भनेका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नारायणकाजी श्रेष्ठ, देव गुरुङ तथा जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महतो लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

ओलीले आफ्नो प्रधानमन्त्री पदको कुर्सी बचाउन विभिन्न तिकडमहरू गरिरहेका बेला कांग्रेसले माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूसँग ओलीको बिकल्पमा सरकार बनाउन प्रस्ताव गरेको छ । कांग्रेसको यो प्रस्तावले ओलीलाई तनाब बढाइदिएको छ ।

ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर समूहलाई साथमा लिएर सरकार बचाउने पक्षमा छन् । ठाकुर पनि ओलीसँग मिलेर सरकारमा जाने पक्षमा देखिएको चर्चा छ ।

Published : Friday, 2021 April 9, 6:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया