कोरोनाको दोस्रो लहर रोक्नेबारे यस्तो छ कांग्रेसको सुझाव, लापरबाही बन्यो कम्युनिस्ट सरकार

काठमाडौं । नेपाली कांग्रेसको कोभिड– १९ अनुगमन समितिले मुलुकमा दोस्रो चरणको कोरोनाभाइरसको संक्रमण भित्र्एको भन्दै चिन्ता जनाएको छ ।

कांग्रेसका सह–महामन्त्री एवम् समितिका संयोजक डा.प्रकाशशरण महतले स्वास्थ्य विभाग, टेकु अस्पताल, चिकित्सकहरूसँग दोस्रो चरणको कोभिड–१९ को विषयमा परामर्श गरेका हुन् । परामर्शका क्रममा कांग्रेसका नेता राजिव बिक्रम शाहसहितका नेताहरूको सहभागिता रहेको थियो ।

सह–महामन्त्री डा.महतले कोरोनाभाइरसको संक्रमणका कारण लकडाउन गर्नुभन्दा संक्रमण रोक्न अपनाउनुपर्ने उपायहरू गर्न सरकारलाई सुझाव दिएका छन् । उनले भने, ‘लकडाउनले मुलुकको आर्थिक क्षेत्रलाई तहस नहस बनाउँछ । लकडाउनको अवस्था आउन नदिन कोरोना रोकथाममा गर्नुपर्ने उपायहरू तत्काल गर्न कांग्रेसको सुझाव छ ।’

डा.महतले कोरोनाका बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरूलाई जोखिम भत्ता दिन सरकारसँग आग्रह गर्दै चिकित्सक र स्वास्थ्यकर्मीको मनोवल उच्च बनाउन सबै उपायहरू अपनाउन आग्रह गरेका छन् ।

कांग्रेसले कोरोनाविरुद्धको भ्याक्सिन ल्याउने सुनिश्चिता तत्काल गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ । डा.महतले पहिलो चरणको खोप लगाउँदा पनि दोस्रो चरणको खोपका लागि सरकारले जिम्मेवारीका साथ पहल नगरेको भन्दै चिन्ता जनाएका छन् । उनले खोप ल्याएर धेरैभन्दा धेरै जनतालाई लगाइदिन आग्रह गरेका छन् ।

विदेशबाट आउने जनतालाई निगरानीमा राख्न जरुरी रहेको भन्दै डा.महतले क्वारिन्टिन, आईसीयु र पीसीआर टेष्टलाई धेरैभन्दा धेरै रुपमा सञ्चालन गर्न सरकारलाई सुझाव दिएका छन् ।

कांग्रेसका सह–महमन्त्री डा.महतले कोरोनाभाइरसको संक्रमणबाट बच्न सामाजिक दुरी कायम राख्ने, मास्क लगाउने, साबुनपानीले हातधुने, स्यानिटाइजर लगाउने, भिडभाड नगर्ने लगायतका कार्यहरू गर्न जनतामा जागरुकता ल्याउन पनि अपील गरेका छन् ।

सरकार अस्पतालहरूमा स्वास्थ्य सामग्रीको समयमा सुनिश्चितता गर्न पनि डा.महतले सुझाव दिएका छन् ।

छलफलमा सरकारी अस्पतालका चिकित्सकहरूले अहिलेसम्म जोखिम भत्ता नपाएको भनेर गुनासो गरे । उनीहरूले मन्त्रीको पीएले जोखिम भत्ता खाए पनि चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई भत्ता अहिलेसम्म नदिएको भनेर चिन्ता जनाए ।

चिकित्सकहरूले कोरोना महामारीका बेला १२ जना स्वास्थ्यकर्मीहरूको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको भन्दै उनीहरूलाई सरकारले दिने भनेका २५ लाख रुपियाँ पनि सरकारले नदिएको गुनासो गरे ।

जहाजबाट आउने र जमीनबाट आउने नागरिकहरूलाई सरकारले भेदभाव गरेको चिकित्सकहरूको भनाइ थियो । चिकित्सकहरूले नयाँ भेरियन्टको कोरोना फेला पर्दा पनि सरकारले रोकथामका उचित व्यवस्था नगरेर लापरबाही गरेको चिकित्सक र कांग्रेस नेताहरूले आरोप लगाएका थिए ।

छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । नेपालमा पनि नयाँ भेरियन्ट फेला परेका छन् ।

Published : Thursday, 2021 April 8, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया