ओलीलाई फाल्ने देउवाको यस्तो छ तयारी, चापागाउँमा गरे खुलासा

चापागाउँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बनाउन आवश्यक संख्या चाहिने भएकाले त्यसका लागि गृहकार्य भइरहेको बताएका छन् ।

ललितपुर जिल्लाको गोदावर नगरपालिका–११ प्याङगाउँचौर, चापागाउँमा बिहीबार वीर गणेशमान सिंह स्मृति चौथो खुल्ला राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बहुमत पुर्‍याएर सरकार बनाउन लागेको बताए । उनले कांग्रेस एक्लैलाई सरकार बनाउन संख्या नपुग्नेभन्दै अन्य दलहरूसँग सम्वाद गरिरहेको बताए ।

‘हाम्रो पार्टीले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने निर्णय गरेको छ । अवश्य पनि हामीले बनाउनुपर्छ’, देउवाले भने, ‘हामीसँग बहुमत छैन ।’

उनले भने, ‘सरकार बनाउन अरु पार्टीको समर्थन चाहिन्छ । आवश्यक संख्या चाहिन्छ । आवश्यक संख्या बनाउन लागेका छौँ । भविष्यले बताउला ।’

कांग्रेस सभापतिस देउवाले संसद भङ्ग गरेर केपी ओलीले समस्या खडा गरेको बताए ।

‘ओलीले राजीनामा गर्नुपर्ने थियो । राजीनामा गरेका छैनन्’, उनले भने, ‘राम्रोसँग काम गर्नुको साटो काम गरेका छैनन् ।’

कांग्रेस नेतृत्वमा सरकार बनाउनुपर्ने भनेर कांग्रेसको केन्द्रीय कार्यसमितिले निर्णय गरेको छ । तर, निर्णायक मानिएको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर समूह प्रधानमन्त्री ओलीतिर झुकाव राखेपछि समस्या उत्पन्न भएको छ ।

Published : Thursday, 2021 April 8, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया