विद्यालयहरूमा अब अनलाइन क्लासको तयारी, लकडाउनबारे यस्तो छ सम्भावना

काठमाडौं । सरकारले स्कुलहरूलाई अनलाइन क्लासमार्फत चलाउने तयारी गरेको छ ।

परिस्थितिअनुसार हेरेर जोखिम भएका स्थानहरूमा अनलाइन क्लासका लागि गृहकार्य भइरहेको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले जानकारी दिएका छन् ।

नेपाली रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा मन्त्री रावतले भने, ‘सबै ठाउँमा होइन । जोखिम रहेका स्थानका विद्यालय, कलेजमा विद्यार्थीलाई अनलाइन क्लास लिनेबारेमा छलफल चलिरहेको छ । सरकारले केही निर्णय गर्छ ।’

स्कुल, कलेजहरूमा शिक्षक र विद्यार्थीलाई कोरोना संक्रमण देखिएको राज्यमन्त्री रावतले बताए ।

बेलायतमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरसको संक्रमण देखिएपछि नेपालमा पनि उच्च सर्तकता अपाउन दवाव छ । सरकारले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाउन पनि अनुरोध गर्दै आएको छ ।

सार्वजनिक बस, सपिङ मल, भिड हुने स्थानहरूमा स्वास्थ्य मापदण्ड अपाउन नसकेको भन्दै उनले जोखिमबाट बच्न सबैलाई अनुरोध गरेका छन् ।

राज्यमन्त्री रावतले लकडाउनबारेमा आ–आफ्नो तर्क रहेको भन्दै तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको बताए । उनले लकडाउन अन्तिम उपाय नरहेको बताए । उनले भने, ‘सरकार अहिले नै लकडाउनको अवस्थामा छैनौँ ।’

लकडाउन गर्नै परेमा सीमित एरियालाई केही समय सिल गरेर राख्ने राज्यमन्त्री रावतले बताए । ‘कोरोना नियन्त्रण बाहिर जान थाल्यो भने सीमित क्षेत्रलाई केही समय सिल गरेर जान सकिन्छ’, उनले भने, ‘मलाई व्यक्तिगत रुपमा भन्नु हुन्छ भने लकडाउन गर्नु हुँदैन ।’

Published : Thursday, 2021 April 8, 6:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया