दुई मन्त्रीले दिए राजीनामा, एमालेभित्र खैलाबैला

पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारबाट दुई मन्त्रीलाई फिर्ता बोलाएको छ ।

एमालेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्रीद्वय हरिबहादुर चुमान र लेखबहादुर थापाले बुधबार राजीनामा बुझाएका छन् ।

चुमान आन्तरिक मामिला तथा कानून मन्त्री थिए । थापा कृषि मन्त्री थिए । माओवादीका दुई मन्त्रीले राजीनामा बुझाएपछि एमालेभित्र तनावपूर्ण अवस्था सिर्जना भएको छ । मुख्यमन्त्री गुरुङ प्रधानमन्त्री खड्गप्रसाद ओली समर्थक मानिन्छन् ।

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री गुरुङ बहुमतमा देखिएका छन् । माओवादी सरकारबाट बाहिरिए पनि समर्थन भने फिर्ता गरिसकेको छैन ।

प्रदेश सभामा रहेको ६० जना सांसदमध्ये एमालेका मात्रै २८ जना सांसद छन् । एमालेलाई गण्डकी प्रदेशको सरकार बचाइ राख्न तीन सांसद भए पुग्छ ।

३ जना सांसद रहेको राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन यथावत राख्दासम्म प्रदेश सरकार बहुमतमै रहन्छ ।

अहिलेसम्म जनमोर्चाले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । मुख्यमन्त्री गुरुङलाई एमालेका १ जना सांसदबाट खतरा देखिएको छ ।

एमालेभित्रको अन्तरद्वन्द्वमा माधव नेपाल पक्षमा रहेका सांसद इन्द्रलाल सापकोटाले कता समर्थन गर्छन् भन्नेमा मुख्यमन्त्री गुरुङको सरकार अल्पमतमा पर्ने वा नपर्ने निर्धारण गर्छ ।

नेपाल समूह समर्थक सांसद सापकोटाले भने त्यसबारे सोच्ने समय नआएको बताएका छन् । मुख्यमन्त्री गुरुङले सबै परिस्थितिको सामना गर्न आफू तयार रहेको बताएका छन् ।

एमाले र माओवादी केन्द्र मिलेर गण्डकी प्रदेशमा सरकार बनाएका थिए । दुबै पार्टीभित्रको झगडाले केन्द्र र प्रदेश सरकारमा उथलपुथल भइरहेको छ ।

Published : Wednesday, 2021 April 7, 8:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया