कांग्रेस समाप्त पारेर सरकारमा जान हतार गर्ने अवसरवादीहरूलाई खाणले दिए जवाफ

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले संसदमा कांग्रेसको प्रस्ताव सफल हुने परिस्थिति बनेपछि मात्र सरकार निर्माणको कदम चाल्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल विद्यार्थी संघद्वारा आयोजित स्व.नवीन्द्रराज जोशीको १२औं पुन्यतिथीको श्रद्धाञ्जलिसभामा बोल्दै नेता खाणले अविश्वासको प्रस्ताव पास हुने अवस्था आए मात्र दर्ता गरिने बताए ।

खाणले प्रधानमन्त्री केपी ओलीले भने नैतिकता आधारमा अब पदबाट राजीनामा दिनुपर्ने बताए ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरेसँगै प्रधानमन्त्री ओलीमाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको उनको भनाइ छ ।

कांग्रेसले संसदमा बहुमत पु¥याएर सरकार गठनको लागि अगाडि बढने पनि उनले बताएका छन् ।

खाणले प्रधानमन्त्री केपी ओलीले नैतिकताका आधारमा राजीनामा नदिएर जिताहा शासक जस्तो गर्दै हिँडेको बताएका छन् ।

सर्वोच्च अदालतको फागुन ११ को फैसलापछि पनि प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिएको खाणले बताए ।

‘राजनीतिमा नैतिकता हुन्छ, मूल्य हुन्छ । मैले सोचेको थिएँ फागुन ११ को सर्वोच्चको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिनेछ भनेर । अहिले पनि बडो जिताहा शासक जस्तो गरेर हिँड्ने कुराले आज आमनागरिकमा के पर्छ होला ?’, उनले भनेका छन् ।

अनैतिक कामको जिम्मेवारी नलिने र आत्मसमीक्षा नगर्ने व्यक्तिहरूका कारणले आज राजनीति बदनाम भएको खाणले बताए ।

‘सबै नीतिको माउ नीति राजनीति हो । राजनीतिज्ञले कस्तो आदर्श र चरित्र देखाउँछन् ? त्यसको प्रभाव आम जनतामा पर्छ’, उनले भने, ‘त्यस्तै अनैतिक कामको जिम्मेवारी नलिने, आत्मसमीक्षा नगर्ने व्यक्तिहरुका कारणले आज राजनीति बदनाम छ । मान्छेहरूले राजनीति भनेपछि फट्याइँ, ठग्ने नै हो भन्ने ठानेका छन् ।’

Published : Tuesday, 2021 April 6, 10:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया