एमाले–माओवादीको नाजाय कुरा कांग्रेसले मान्दैनः देउवा

दमक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय गणितको संख्याले साथ दिएमा सरकारको अगुवाइ गर्ने बताएका छन् ।

शहीद यामबहादुर आचार्य प्रतिष्ठानले मंगलबार झापाको शान्तिनगरमा आयोजना गरेको स्व. आचार्यको शालिक अनावरण कार्यक्रममा देउवाले कांग्रेसले प्रजातन्त्रको खिलाफमा माओवादी वा एमाले कसैसँग पनि सक्झौता नगर्ने बताए ।

उनले सरकारका विषयमा भन्दा पनि आफ्नो पार्टीको एकतामा बढी जोड दिएका छन् । देउवाले एमाले र माओवादीको नाजायज कुरालाई कांग्रेसले साथ नदिने बताए ।

सभापति देउवाले नेपाली कांग्रेस एक भए संसारको कुनै पनि तागतले हराउन नसक्ने बताए । उनले पार्टी एक भए फेरि पनि चुनाव जित्न सकिने र राजनीतिक दलहरूलाई जवाफ दिन सकिने बताए ।

देउवाले भने, ‘एकता नै पार्टीको जग हो । हामी एक भयौँ भने संसारको कुनै तागतले हराउन सक्दैन ।’

प्रजातन्त्र रक्षाका लागि हिजो राजतन्त्र हटाउनु परेको बताउँदै देउवाले भने, ‘नेपाली काँग्रेस एकमात्र प्रजातन्त्रवादी पार्टी हो, नेपाली काँग्रेसले प्रजातन्त्रको खिलाफमा कसैसँग सम्झौता गर्न सक्दैन, चाहे माओवादी होस् चाहे एमाले ।’

सरकार निर्माणका लागि संख्या आवश्यक पर्ने भन्दै त्यो संख्या निश्चित भए कांग्रेसले सरकारको अगुवाइ गर्ने सभापति देउवाले बताए ।

कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसले मुलुकलाई वैचारिक र सांगठानिक अगुवाइ गर्नुपर्ने बताए ।

‘अहिले नेपालको राजनीति सङ्कटोन्मुख छ, संकटग्रस्त भइसकेको छैन’, सिटौलाले भने, ‘ त्यसलाई बचाउने र जनताको अधिकारलाई बचाउने जिम्मा कांग्रेसको काँधमा छ ।’

केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले कांग्रेसले प्रधानमन्त्री बन्न हतार गर्न नहुने बताए । उनले चुनाव गराउन कांग्रेसकै सरकार आवश्यक हुनेमा जोड दिए ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मान्छे मार्ने र शालिक बनाउने कार्यको अन्त्य हुनुपर्ने बताए ।

Published : Tuesday, 2021 April 6, 9:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया