प्रचण्डलाई बम हानेर सिध्याउन खोज्ने आफ्नै पार्टीका ठूलै नेता भएको खुलासा

रुकुम पश्चिम । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई ०७० सालको निर्वाचनमा बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएर ठूलो गल्ती गरेको खुलासा गरेका छन् ।

रूकुम पश्चिम जिल्लामा मंगलबार आयोजित माओवादीको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले आफूलाई गद्धार भन्ने र बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेको भन्दै पछुताए । दाहालले आफूलाई कसले बम प्रहार गरेको नाम उल्लेख नगरे पनि गृहमन्त्री रामबहादुर थापामाथि उनको संकेत थियो ।

दाहालले पार्टी छाडेर गएका र पुनः फर्केकाहरूलाई आफूले माथिल्लो तहमा जिम्मेवारी दिनु गल्ती भएको पनि बताएका छन् ।

‘पार्टी विभाजन गरेर जानेलाई माथिल्लो तहमा जिम्मा दिएँ’, दाहालले भने, ‘मलाई गद्दार भन्नेहरू र ०७० सालको चुनावमा ममाथि बम प्रहार गर्ने साथीहरूलाई गृहमन्त्री बनाएँ । मैले गल्ती गरें । उनीहरू बिकाउ माल सावित भए ।’

अध्यक्ष दाहालले आफू पुनः जनताका काखमा आइपुगेको बताएका छन् । दाहालले आफूलाई दुःखमा बचाउने नेता तथा कार्यकर्ता पछि परेकोमा आत्मआलोचना गरेका छन् ।

‘म आत्मआलोचना गर्न आएको हुँ । मलाई दुःखमा बचाउने र सहयोग गर्ने तथा अप्ठरो पर्दा प्रचण्ड भन्नेहरू ओझेलमा परेका छन्’, दाहालले भने, ‘जाली, फटाहले भाउ पाएजस्तो भयो ।’

‘इमान्दार कार्यकर्तालाई पार्टी, नियुक्तिहरू र मन्त्री बनाउँदा प्राथमिकता दिनुपर्नेमा मैले गल्ती गरेँ’, माओवादीका अध्यक्ष दाहालले भनेका छन् ।
उनले भने, ‘शहीद परिवार ओझेलमा परेजस्तो भयो भने जनयुद्धमा त्याग गर्नेहरू पनि ओझेलमा परे । अब म त्यस्तो गर्दिनँ । हिजो युद्धमा लागेकालाई अगाडि बढाउने संकल्प गर्छु ।’

उनले प्रतिक्रान्तिकारीहरूलाई खबरदार गर्न आफू जिल्ला आएको पनि बताएका छन् । ‘सिंहदरबारमा बस्ने प्रतिक्रान्तिहरूलाई खबरदार भन्न रूकुम पश्चिम आएको हुँ खबरदार,’ उनले भनेका छन् ।

‘प्रचण्ड कमजोर भयो । जनताको साथ छैन । संविधान र गणतन्त्र उल्टाइदिए हुन्छ भनेर केहीकेही मानिसले सोँचेका छन्’, उनले भने, ‘मसँग मेरो पार्टी छ नेता कार्यकर्ता छन् ।’ मसँग क्रान्तिकारी जनताको ऊर्जा शक्ति छ ।’

Published : Tuesday, 2021 April 6, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया