पौडेलद्वारा ठाकुरलाई प्रधानमन्त्रीमा प्रस्ताव, कांग्रेसलाई ठूलो नोक्सानी

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् ।

आइतबार ललितपुरको हात्तिवनस्थित ठाकुरको निवासमा पुगेर पौडेलले भेट गरेका हुन् । भेटमा नयाँ सरकार र केपी ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विषयमा कुराकानी भएको एक नेताले जनाएका छन् ।

जसपाका अध्यक्ष ठाकुरले सरकारको नेतृत्व लिन आफू तयारी अवस्थामा बसेको भन्दै सधैँ अरु दलहरूलाई मात्रै सहयोग गरेर जान नसकिने जवाफ पौडेललाई दिएका छन् ।

कांग्रेस नेता पौडेलले ओलीलाई हटाउने सर्तमा जसपालाई प्रधानमन्त्री बनाउन सकिने आश्वासन दिएको जसपाका एक नेताले बताएका छन् ।

पौडेलले ठाकुरलाई कसको निर्देशनमा प्रधानमन्त्री बनाउने भनेर आश्वासन दिएका हुन् ? रहस्यको विषय बनेको छ । जसपाका अध्यक्ष ठाकुरलाई भारततिर झुकाब राखेको भनेर आरोप लाग्दै आएको छ ।

जसपाका अध्यक्ष ठाकुरले मुलुकको राजनीति आफूहरूमाथि आएर टिकेको भन्दै कांग्रेसलाई साथ दिएर सरकारमा जान नसकिने घुमाउरो जवाफ पौडेललाई दिएका छन् ।

ठाकुरले पौडेललाई आफूहरूको एजेण्डा सम्बोधन भएपछि मात्रै गठबन्धन बन्ने जवाफ दिएका छन् ।

कांग्रेसले सरकारको नेतृत्व लिने निर्णय गरेपछि ठाकुरलाई फकाउन पुगेका पौडेललाई ‘तपाईहरू पहिला क्लियर भएर आउनुहोस’ भनेर फिर्ता पठाइदिएका छन् ।

‘उहाँले मूल कुराचाँही हामी गठबन्धनमा जानुपर्छ, भनेर भन्नुभयो । मैले तपाईहरु क्लियर नै हुनुहुन्न । तपाईहरूको गठबन्धन के को गठबन्धन ?’, ठाकुरले भनेका छन् ।

पौडेल र सिटौला समूहको दवावमा कांग्रेसले ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएर आफ्नो नेतृत्वमा सरकार बनाउने निर्णय गरेको थियो ।

सभापति शेरबहादुर देउवा अंक गणित र अहिलेको समय कांग्रेसको पक्षमा नरहेको भन्दै सरकारमा जानेबारे धेरै रुचि देखाएका छैनन् ।

देउवालाई कमजोर बनाउने सपना देखेका पौडेल–सिटौला समूहले सरकारमा जाने नाटक मञ्चन गर्न थालेका छन् ।

ओलीले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था सिर्जना भयो भने जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाएर सत्ता आफ्नो हातबाट बाहिर जाने दिने पक्षमा छैनन् ।

पौडेल भने एक्लै नेताहरूलाई भेटेर सरकारको विषयमा छलफल चलाएका छन् । विगतमा प्रधानमन्त्री निर्वाचनमा १७ पटक पराजित भएका पौडेलको उदेश्य १४औँ महाधिवेशनमा देउवालाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने ध्यानमा केन्द्रित छ ।

अहिले कांग्रेस सरकारमा गयो भने कुनै पनि सुधारका काम गर्न सक्नेछैन । बरु कम्युनिस्टको दोषीको भागिदार बन्ने पक्का छ ।

यसअघि पनि कांग्रेस नेता पौडेलले ओलीलाई हटाउने सर्तमा देउवा अबरोध बन्न नहुनेभन्दै ठाकुर वा बाबुराम भट्टराईमध्ये एउटालाई प्रधानमन्त्री बनाउन सकिने भनेर अभिव्यक्ति दिइसकेका छन् ।

Published : Sunday, 2021 April 4, 10:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया