कांग्रेसले विश्वास गरेका नेताले धोका दिए, जिम्मेवारी छाडेर बीचमै भागे

काठमाडौं । नेपाली कांग्रेसले विश्वास गरेर दिएको जिम्मेवारीबाट राधेश्याम अधिकारी भागेका छन् ।

कांग्रेसले अधिकारीलाई निर्वाचन समितिको संयोजक बनाएको थियो । अधिकारीले राजीनामा दिएर कांग्रेसलाई धोका दिएका छन् ।

अधिकारीले दिएको राजीनामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहेका अधिकारीले क्रियाशील सदस्यता वितरण र नवीकरणमा समयमा नसकिएको भन्दै राजीनामा दिएको जनाएका छन् ।

अधिकारीले पार्टीबाट असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन् । पार्टीले क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि पटक–पटक समय थपे पनि कार्यतालिकाअनुसार काम भएको छैन ।

पार्टी केन्द्र तथा तल्लो तहका कार्यसमितिले असहयोग गर्दा कार्यतालिकाअनुसार काम गर्न नसकिएको निर्वाचन समितिका सदस्यहरूले बताउँदै आएका छन् ।

२०७५ को चैतमा अधिकारीको संयोजकत्वमा गोपालकृष्ण घिमिरे, सीताराम केसी, खम्बबहादुर खाती र एकराज पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरेको थियो ।

पछिल्लो समय चैत मसान्तसम्मका लागि क्रियाशील सदस्यता वितरण र नवीकरणको नाम केन्द्रमा पठाउने समय तोकिएको छ । नौ जिल्लाले हालसम्म क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य थालनी गरेका छैनन् ।

निर्वाचन समितिले क्रियाशील सदस्यता तथा पार्टीका सबै तहका निर्वाचनका मतदाताहरुको विवरण राख्ने र अद्यावधिक कार्य गर्ने जिम्मेवारी रहेको हुन्छ ।

पार्टी संरचनाका हुने निर्वाचनको कार्यतालिका पनि निर्वाचन समितिले बनाउँछ । निर्वाचन समितिले आफ्ना कार्य पार्टी केन्द्रीय समितिलाई बुझाउनुपर्ने हुन्छ ।

Published : Sunday, 2021 April 4, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया