कांग्रेससँग जसपा सकारात्मक, प्रधानमन्त्रीमा दाबी, राजकिशोरका कुराले ओलीलाई तनाब

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता राजकिशोर यादवले सरकार बनाउने विषयमा गरेको निर्णयलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

आइतबार बिहान पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कमा कुरा गर्दै यादवले कांग्रेसलाई नयाँ सरकारको विषयमा छलफलको एजेण्डा लिएर जसपासँग वार्ता गर्न निम्तो दिए । उनले छलफल गर्ने क्रममा कांग्रेससँग जसपाले नेतृत्वको दाबी गर्ने पनि बताएका छन् ।

‘नेपाली कांग्रेस ढिलो भए पनि प्रमुख प्रतिपक्षको भूमिकामा आएको छ’, नेता यादवले भने, ‘कांग्रेसले यो सरकार मुलुकको हितमा छैन । यसको राजीनामा माग्ने । भरसक आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय भएको छ ।’

जसपाका नेता यादवले भने, ‘कांग्रेसको निर्णय हो । कांग्रेसले त्यो निर्णयअनुरुप निर्णय गर्दैमा हुँदैन । कांग्रेसले अरुको सहयोग लिनुपर्ने हुन्छ ।’ ‘अरुको सहयोगका लागि कांग्रेसले त्यो प्रकारको व्यवहार, योजनासहित सम्वाद थाल्नुपर्छ’, नेता यादवले भनेका छन् ।

पूर्वमन्त्री समेत रहेका नेता यादवले भने, ‘जसपाले शुरुकै दिनदेखि एउटा सत्ताको विषय छ । आन्दोलनको विषयवस्तुहरू शासकीय स्वरुप र संविधानसँग सम्बन्धित विषयहरू हो ।’

‘आन्दोलनको घटनाहरूबाट प्रभावित भएका, पीडित भएका व्यक्तिहरूको बारेमा निराकरण कसरी गर्न सकिन्छ त्यसका बारेमा प्रस्ताव आवश्यक्त छ’, उनले भने, ‘यी विषयमा दलहरूसँग सम्वाद र छलफलहरू गर्दै आएका छौँ । पीडितहरूको सम्बन्धमा सम्बोधन गरोस् ।’

उनले भने, ‘कांग्रेस मैदानमा त उत्रियो । कस्तो सरकार बनाउने ? सरकारको नीति तथा कार्यक्रम के हुने ? योजना के हुने ? यी विषय सम्वादमा आयो भने जसपा सम्वाद गर्छ । सम्वादमार्फत एउटा निष्कर्षमा पुग्छ ।’

नेता यादवले कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री मान्नुपर्ने आधार र कारण आफूले नदेखेको बताएका छन् ।

‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने नेपाली कांग्रेसको निर्णय हो । कांग्रेसको सभापति शेरबहादुर देउवाजी हुनुहुन्छ । दलको नेता हुनुहुन्छ । कांग्रेसले त्यो निर्णय गर्‍यो । जसपाले कांग्रेसले निर्णय गर्दैमा त्यसको पछि कुदिहाल्नुपर्ने कुनै तर्क र कारण देखिदैन ।’

‘जसपा यो मुलुकको बैकल्पिक राजनीति गर्छु भन्ने सोँचका साथ अगाडि बढिरहेको छ । विगतमा सरकारमा नगएर हाम्रा मुद्धा उठाउने, दवाव दिने हाम्रो सोँच हो’, उनले भने, ‘अहिले राष्ट्रिय राजनीतिमा जसरी घटनाहरू विकसित भयो, जसपा सरकारमा नगइकन एकप्रकारको अन्यौलको बन्दी मुलुक बन्नुपर्ने स्थिति देखा पर्‍यो । जसपाको कारणले कुनै प्रकारको हानी हुने काम गर्दैन ।’

उनले भने, ‘कांग्रेस फिल्डमा कुदेपछि माओवादी केन्द्रले आफ्नो समर्थन के गर्छ ? अहिले पनि यो सरकार बहुमतको सरकार हो । राजनीतिक रुपमा माओवादी केन्द्र सरकारको विरोधमा छ ।’

‘कानूनी र संवैधानिक रुपमा माओवादी सरकारसँग छ । माओवादीले आफ्नो स्पष्ट पोजिशन लिइसकेपछि या समर्थन फिर्ता लिइसकेपछि ! पहिला त समर्थन फिर्ता लिन्छ कि लिँदैन ? बाहिर सधैँ फिर्ता लिन्छु लिन्छु भन्छ’, उनले भनेका छन् ।

‘केही न केही कारण देखिाएर माओवादीले समर्थन फिर्ता लिएको छैन । माओवादीले समर्थन फिर्ता लियो भने जसपाले एउटा निर्णय गर्नुपर्ने अवस्थामा आउँछ’, नेता यादवले भनेका छन् ।

‘मैले तेस्रो बिकल्प पनि देख्दैछु । शेरबहादुर देउवाजीको नेतृत्वमा जाने को कि, ओलीजीको नेतृत्वमा जाने हो ? भन्ने कुरामा अहिलेको स्थितिमा कुनै एक दलको बहुमत छैन’, नेता यादवले भने, ‘कुनै एक दलले निर्णय गर्दैमा त्यसको सरकार बन्दैन । त्यसको नेतृत्व अरुले मानिदिनुपर्छ भन्ने मलाई लाग्दैन ।’

उनले भने, ‘तेस्रो विकल्पमा हामी सम्वाद गर्छौं । तेस्रो गठबन्धन पनि बन्न सक्छ । जसपालाई एक पटक नेतृत्व किन नदिने भन्ने विषय पनि हुन सक्छ । हाम्रो लागि कांग्रेस तयार नभइदिने, हामी उसको लागि तयार भइदिनुपर्ने ?’

उनले भनेका छन्, ‘सरकारको नेतृत्वमा कांग्रेसको दाबी ठीक हो । कांग्रेसको दाबीमा सबैजना एकदम पछाडि लागेर दौडनुपर्ने म कारण देख्दिन ।’

ओली सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर ओलीलाई हटाएर कांग्रेसले नयाँ सरकारको नेतृत्व गरेर सरकार बनाउने निर्णय गरेपछि जसपाले पनि नेतृत्वमा दाबी गरेको छ । जसपाका नेता यादवको नयाँ सरकारबारेको तर्कले ओलीलाई झन् तनाब बढाइदिएको छ ।

Published : Sunday, 2021 April 4, 12:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया