कम्युनिस्टहरु गर्ल्यामगुर्लुम ढले, कांग्रेसले देश सम्हाल्नुपर्छः रामहरि खतिवडा

उदयपुर । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसलाई बलियो बनाउनुपर्ने भन्दै चिया पसलमा एकले अर्कोलाई गाली गर्ने परम्परा अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मगर संघले उदयपुरमा शनिबार आयोजना गरेको प्रदेश १ स्तरीय कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले कांग्रेसलाई मिलेर जाने मौका मिलेको बताए । उनले कम्युनिस्टहरुले दाता र नातालाई व्यवस्थापन गर्न नसक्दा दुईतिहाइ नजिकको बहुमत पाउँदा पनि पार्टी फुटेर देशलाई बर्बाद बनाएको बताए ।

‘यो बेला नेपाली कांग्रेसलाई एउटा मौका प्रदान भएको छ । कांग्रेसले अबको दिनमा एउटा गुट र अर्को गुट होइन, गुटको होइन मजबुद एकताको बाटो लिएर जानुपर्छ’, उनले भने, ‘कांग्रेसका साथीहरु एकठाउँबाट अर्को ठाउँमा भेला हुँदा चिपासलमा गफ गर्दा एउटा कांग्रेसले अर्को कांग्रेसको आलोचना गर्ने होइन, सम्मानजनक वातावरण बनाउनुपर्छ ।’

कांग्रेस नेता खतिवडाले भने, ‘आजको आवश्यक्ता भनेको मेलमिलाप, सहमति र सहकार्यको आवश्यक्ता छ ।’

उनले मगर समुदायले कांग्रेसका लागि ठूलो योगदान गरेको भन्दै पार्टीले विशेष ध्यान दिनुपर्ने बताए । ‘केन्द्रीय कार्यसमितिमा मगर समुदायको उपस्थिति धेरै देखिन । मगरलाई सम्बोधन गर्नुपर्छ’, उनले भने, ‘कांग्रेसले सबैलाई लिएर हिँड्न सक्नुपर्छ ।’

‘झण्डै दुईतिहाइको नजिक पुगेको सरकार आफ्नै नाता र दातालाई व्यवस्थापन गर्न नजान्दा भूकम्पले ढाले झैँ गर्ल्याम्मका साथ ढल्न पुगेको छ’, खतिवडाले भनेका छन् ।

‘कहिले एमाले, कहिले माओवादी कहिले नेकपा, कहिले फुकपा नाममा फुटेको कम्युनिस्ट पार्टीको नाममा जनतालाई निराशा बाहेक केही दिन सकेको छैन’, उनले भनेका छन् ।

‘कांग्रेसले हाम्रो नेतृत्वमा संविधान निर्माण गर्यौं । हामीले सबै जात, वर्ग, धर्मको संविधान बनायाँै’, खतिवडाले भने, ‘मगर संघले सबै प्रदेशमा आफ्नो कार्यक्रम गरेर संविधान कार्यान्वयन गरेको छ ।’

‘कम्युनिस्टले कहिल्यै पनि जनजातिलाई साथ दिएन । सधैँ जनजातिका नाममा राजनीति गरे’, उनले भने, ‘नेकपाको नौ जनाको सचिवालयमा सात जना बाहुन थिए । महिला, मधेसी, दलित थिएन । भोट माग्ने बेला जनजातिसँग माग्ने, खानेबेला बाहुनले मात्रै खानेलाई मत नदिनुस् ।’

खतिवडाले भनेका छन्, ‘हरिशंकर परियारलाई उदयपुरमा जिल्ला विकास समितिको पहिलो दलित समुदायबाट सभापति बनाएको थियो । थारुमा परशुनारायण चौधरीलाई महामन्त्री बनाएको थियो ।’

एमालेलाई विकास विरोध पार्टीको संज्ञा खतिवडाले दिएका छन् । ‘अरुण तेस्रो बनेको भए आज लोडसेडिङ हुने थिएन । एमालेले अरुणलाई रोक्ने काम गरेको हो’, उनले भने, ‘लोडसेडिङ गरेको एमालेले हो ।’

कम्युनिस्टले वडा सदस्य हारेकालाई राष्ट्रिय सभाको सांसद बनाएको बताएका खतिवडाले प्रदेश प्रमुख पनि जनताबाट पराजितलाई बनाएको बताएका छन् ।

कार्यक्रममा महामन्त्री डा.शशांक कोइराला, डा.नारायण खड्का, भीष्मराज आङदम्वे, लक्ष्मी परियार, रोल्पाका सभापति अमरसिंह पुन, उदयपुरका सभापति विदुर बस्नेत, पुरुषोत्तम दाहाललगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2021 April 3, 5:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया