पौडेल–सिटौलाले कांग्रेस समाप्त हुने प्रस्ताव ल्याएपछि भण्डारीले बैठकमै सातो लिए, गगन पनि बोले

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहलाई सरकारमा जान हतार भएको छ ।

पौडेल–सिटौला समूहका नेता र सांसदहरूको दवावमा सरकारमा जान हतार गरेको आरोप छ ।

सभापति शेरबहादुर देउवा भने अहिलेको सरकारमा कांग्रेस सहभागी भएर वा नेतृत्व लिएर कम्युनिस्टको बदनाम आफ्नो टाउकोमा आउनेभन्दै सरकारप्रति रुचि देखाएका छैनन् ।

देउवा समूहले सरकारमा जानेभन्दा पनि अर्ली निर्वाचनमा जानका लागि वातावरण बनाउनुपर्ने बताएका थिए । निर्वाचनको तयारीमा जुट्नुपर्ने देउवा समूहको भनाइ थियो ।

जति बेला कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था थियो त्यो बेला पौडेल–सिटौला समूहले देउवालाई सरकार बनाउन दिएनन् । अबरोध गरेर ठूलो असहयोग नै गरे । अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावनानै छैन । यो अवस्थामा पौडेल–सिटौला समूह सरकारमा जान हतार गरिरहेको छ ।

संसद भङ्ग भएका बेला कांग्रेसको नेतृत्वमा सरकार बन्ने ठूलो सम्भाना थियो । देउवा प्रधानमन्त्री बन्ने अवसर पनि आएको थियो । तर, पौडेल–सिटौला समूहले देउवालाई प्रधानमन्त्री बन्न रोक्न सरकारमा जान नहुने भनेर पार्टीभित्र आन्दोलननै घोषणा गरे । गुटको बैठक राखेर देउवालाई सरकारमा नजान दवाव दिए ।

संसद पुनःस्थाना भएपछि अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना छैन । त्यो कुरा देउवाले राम्रोसँग बुझेका छन् । तर, पौडेल–सिटौला समूहलाई सरकार चाहिएको छ ।

पौडेलले आफू सांसद नरहेकाले प्रधानमन्त्री वा सत्ताको कुनै लोभ नरहेको बताउने गरेका छन् । उनै पौडेल हुन् प्रधानमन्त्री बन्न १७ पटकसम्म संसदमा पराजित हुने नेता । देउवालाई कमजोर बनाउन पौडेलले सरकारको कुरा जोडदार रुपमा उठाएका हुन् ।

सिटौला झन् चतुर खेलाडी हुन् । पहिलो संविधान सभाका बेला सिटौला गृह मन्त्री थिए । सिटौलाकै कारण पहिलो संविधान सभामा कांग्रेस नराम्रोसँग पराजित भएको थियो । सिटौलाले कांग्रेसका मतदाता र उम्मेदवारलाई संरक्षण नगरेर माओवादीलाई संरक्षण गरेका थिए ।

सिटौलाले सुरक्षा नदिएका कारण दाङ क्षेत्र नं. १ मा खुमबहादुर खड्कामाथि माओवादीका लडाकुले सांघातिक आक्रमणनै गरेका थिए । खड्काले सिटौला र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सहयोग मागे । तर, सिटौला र गिरिजाप्रसादले सहयोग नगरेपछि चुनावमा आफूलाई मतदान नगर्न अपील गरेर खड्का नेपालगञ्ज हुँदै काठमाडौं आएका थिए ।

शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्य शंकर भण्डारीले सरकारमा जान पौडेल–सिटौला समूहले दिएको दवावको विरोध गरे । उनले कांग्रेसले सरकार बनाउन सक्ने अवस्था नरहेको भन्दै अहिले सरकारमा गएर कम्युनिस्टको दोष कांग्रेसले लिन नहुने धारणा राखेको एक नेताले बताएका छन् ।

नेता भण्डारीले पौडेल–सिटौला समूहको बैठकमा सातो लिएका थिए । भण्डारी बोल्दै गर्दा पौडेल–सिटौलाको अनुहार कालोनिलो भएको प्रत्यक्षदर्शी नेताहरूले बताएका छन् ।

‘कांग्रेसको नेतृत्वमा सरकार बन्ने बेला सरकारमा जान हुँदैन भनेर रोक्न तपाई रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाजीहरू होइन ?’, भण्डारीको भनाइ उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘अहिले कांग्रेसको नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । कम्युनिस्टलाई साथ दिएर सरकारमा जान सकिँदैन । अब निर्वाचन आउन लागेको छ । कांग्रेसलाई बेफाइदा हुन्छ ।’

अर्का केन्द्रीय सदस्य गगन थापाले सरकारमा जानुपर्ने धारणा राखेका थिए । सिटौला समूहका नेता थापाले ओलीको बिकल्पमा कांग्रेसले सरकार बनाउन पहल गर्नुपर्ने र बनाउन नसके थन्किएर बस्नुपर्ने जस्तो बेतुकको तर्क राखेको कांग्रेस नेताहरूले बताएका छन् ।

पौडेल–सिटौला समूहको सरकारमा जानुपर्ने दवावलाई देउवाले मान्न अस्वीकार गरेपछि बैठक निर्धारित समयभन्दा धेरै ढिला बसेको थियो । देउवाले पौडेल–सिटौला समूहलाई सरकारमा जान हुँदैन भनेर कन्भिन्स गर्न धेरै प्रयास गरेपनि उनीहरू टसको मस भएनन् ।

पौडेल–सिटौला समूहकै दवावमा बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्न दिइएको थिएन । केन्द्रीय सदस्यहरूलाई बोल्न चैत २७ गतेको अर्को बैठकमा दिइने भएको छ ।

Published : Saturday, 2021 April 3, 9:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया