बुढाले भत्काइदिए डोल्पामा कम्युनिस्टको कथित ‘किल्ला’, झाँक्रीसहितका नेताहरू कांग्रेसमा प्रवेश

त्रिपुरासुन्दरी । डोल्पा जिल्लामा माओवादी केन्द्र र एमालेका स्थानीय नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

त्रिपुरासुन्री नगरपालिका– ५ मा बिहीबार आयोजित पार्टी प्रवेश एवम् कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य कर्णबहादुर बुढाले माओवादीका जिल्लास्तरीय लोकप्रिय नेता मूललाल चलाउनेसहित २५ जनालाई प्रवेश गराएका हुन् । नेता बुढाले नवप्रवेशीहरूलाई इमान्दारिताका साथ पार्टीमा काम गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय सदस्य बुढाले कम्युनिस्टहरू असफल भइसकेको बताए । ‘जनताले विश्वास गरेर एमाले र माओवादीलाई झण्डै दुईतिहाइ बहुमत दिए’, उनले भने, ‘मिलेर देश र जनताको सेवा गर्ने बेला पार्टी फुटाएर रमिता देखाएका छन् ।’

कांग्रेसका केन्द्रीय सदस्य बुढाले कम्युनिस्टहरूबाट देश चल्न नसक्नेभन्दै निर्वाचनबाट बहुमत ल्याएर कांग्रेसले एकलौटी रुपमा सरकार चलाउनुपर्ने बताए । उनले अबको निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने दाबी समेत गरेका छन् ।

नेता बढुवाले कांग्रेसलाई बलियो बनाउने गाउँका जनता रहेको बताउँदै गाउँबाटै कांग्रेसको जरा बलियो बनाउन निर्देशन दिए ।

त्रिपुरासुन्दर नगरपालिका– ५ का माओवादीका लोकप्रिय नेता मूललाल चलाउनेसँगै मोती झाँक्री, सुरेन्द्र रोकाय, पूर्वे झाँक्री, सुका घर्तीलगायतका नेताहरू कांग्रेसमा प्रवेश गरेको नेविसंघका नेता पुष्कर शाहीले जानकारी दिएका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य कर्णबहादुर बुढा, गौरीशंकर उपाध्याय, मोतीप्रसाद उपाध्याय, नीमाछिरिङ बुढा, हिक्मतबहादुर शाही, श्याम रोकाय, कुलबहादुर बोहरा, पुष्पकुमार शाही, तेजेन्द्र रोकायलगायतका नेताहरू उपस्थिति रहेको थियो ।

त्रिपुरासुन्दरी नगरपालिका– ५ मा कांग्रेस कमजोर थियो । कांग्रेसका केन्द्रीय सदस्य बुढाले कम्युनिस्टहरूले किल्ला ठान्ने यो वडामा छिरेर संगठन विस्तार शुरु गरेका छन् । केन्द्रीय सदस्य बुढासहितका डोल्पा कांग्रेसका नेताहरूले आगामी निर्वाचनमा सबै तहमा कांग्रेसलाई जिताउने गरेर अभियान चलाएका छन् ।

यसअघि, त्रिपुरासुन्दरी नगरपालिका–६ मा आयोजित कांग्रेसको पार्टी प्रवेश कार्यक्रममा चन्द्रलाल चलाउनेसहित ३५ जना कांग्रेसमा प्रवेश गरेका थिए ।

Published : Friday, 2021 April 2, 4:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया