मेलम्चीका जन्मदाता किशुनजीलाई कांग्रेसले सम्झियो, जिल परे ओली

काठमाडौं । नेपाली कांग्रेसले मेलम्चीको पानी काठमाडौं उपत्यकाबासीले पिउन पाएकोमा खुसी व्यक्त गर्दै तत्कालीन सभापति एवम् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई स्मरण गरेको छ ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति जारी गरेर काठमाडौंको खानेपानी समस्या समाधान गर्न मेलम्ची नदीको पानी ल्याउने उद्घोष गरेको परियोजना अन्तत आजको समयमा साकार हुन पुगेको बताएका छन् ।

‘यो घडी नेपाली कांग्रेस सन्त नेता भट्टराईप्रति उच्च सम्मान प्रकट गर्दै काठमाडौं उपत्यकाबासीमा बिशेष बधाई ज्ञापन गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

शर्माले भनेका छन्, ‘मेलम्ची परियोजनाको सफलताले काठमाडौंको पानी संकट हल गर्न महत्वपूर्ण योगदान त पुर्‍याउँदैछ नै संगैमा यो सफलताले देशको समृद्धिका लागि आधुनिक प्रविधि र अझ नवीन परियोजनाहरुका लागि थप मार्गप्रशस्त समेत गरेको छ ।’

‘नेपाली कांग्रेसको सरकारले शुरु गरेको परियोजना अनेक प्रतिकुलता चिर्दै सफल हुन निश्चय नै दुई दशक भन्दा बढि समय लाग्यो, तर यो सफलता उपत्यकालाई सँगै पूरै देशका लागि हर्ष र गौरवको घडी बनेको छ’, कांग्रेसले भनेको छ ।

‘यो घडीमा सन्त नेता किसुनजीलाई सँगै यसको शुरुआतदेखि सफलतासम्म सरिक सबैलाई हामी सम्मानपूर्वक स्मरण गर्दछौं’, विज्ञप्तिमा कांग्रेसले भनेको छ, ‘सक्षम इन्जिनियरहरूले निर्माण गरेको उत्कृष्ट डिजाइन । आर्थिक र भौतिक सहयोग गर्ने वैदेशिक हातहरू । प्रगतिमा इंटा थप्ने पछिल्ला सरकारहरू एवं राष्ट्रसेवक कर्मचारीहरू । अहोरात्र पसिना बगाएका मेहनती श्रमिकहरू । सुरुङ्ग निर्माण सिलसिलामा दुर्घटनामा जीवन गुमाएका इन्जिनियर र श्रमिकहरू । परियोजना सफलताका लागि सहृदयी ढंगले साथ दिएका सिन्धुपाल्चोक जिल्लाबासी एवं मुलत मेलम्चीका स्थानीय नागरिकहरू ।’

‘नेपाली कांग्रेस सबैलाई सम्मान गर्दै, फेरि पनि सन्त नेता कृष्णप्रसाद भट्टराईको श्रद्धापूर्वक स्मरण गर्दै उपत्यकाबासीमा फेरि पनि बधाई ज्ञापन गर्दछ’, शर्माले भनेका छन्, ‘परियोजनाको भविष्य सुरक्षित र सफल बनाउन सबैको साझा प्रतिबद्धता, ऐक्यवद्धता र साथका लागि समेत नेपाली कांग्रेस सबैलाई अपील गर्दछ ।’

कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मेलम्ची पानीको आयोजनाका जन्मदता भट्टराईको नाम उच्चारण गर्न लाज मानेका बेला कांग्रेसले तत्कालीन प्रधानमन्त्री भट्टराईको नाम स्मरण गरेको छ ।

Published : Thursday, 2021 April 1, 11:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया