कांग्रेसलाई धोका दिएपनि प्रचण्डले कांग्रेसको प्रमुख शत्रुलाई सिध्याएर गुन तिरे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच स्थानीय तहको निर्वाचन र सरकारमा तालमेल भएको थियो । त्यही तालमेलका बेला कांग्रेसको नाम भजाएर प्रचण्डले छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मयर बनाउन सफल भए ।

छोरीलाई जिताउनेवित्तिकै प्रचण्डले देउवा र कांग्रेसलाई लात हानेर एकाएक एमालेका अध्यक्ष केपी ओलीसँग साँठगाँठ गर्न पुगे । प्रतिनिधि सभाको निर्वाचनमा एमालेसँग मिलेर नजाने हो भने कांग्रेससँगको सहकार्यबाट आफू पनि पराजित हुने मूल्यांकन गरेका प्रचण्डले ओलीसँग रातारात सहमति गरेर वाम गठबन्धन बनाए ।

प्रचण्डले चितवनबाट सहज रुपमा त जिते । तर, राष्ट्रिय राजनीतिबाट हारे । प्रचण्डले नराम्रोसँग धोका पाएका छन् । ओलीसँग पनि एक्लिएका प्रचण्ड तनावमा छन् ।

प्रचण्डकै कारण एमाले बिग्रहमा पुगेको छ । प्रचण्डका केही दुई–चार जना नेताहरू बाहेक माओवादीलाई कुनै बेफाइदा भएको छैन । प्रचण्डलाई व्यक्तिगत रुपमा भने बेफाइदा भएको छ ।

प्रचण्डका कारण सबैभन्दा ठूलो समस्या र तनाब एमालेलाई भएको छ । प्रचण्डको विश्वास गर्दा सबैभन्दा नराम्रो तरिकाले माधवकुमार नेपाल र झलना खनाल फसेका छन् । ओलीले प्रचण्डलाई साथ दिएको भन्दै नेपाल र भीम रावललाई छ महिनाका लागि कारबाहीनै गरिसकेका छन् । अब कारबाही भोग्ने पालो सुरेन्द्र पाण्डे र घनश्याम भुसालको आएको छ ।

त्यसपछि नेता खनालले पनि ओलीको कारबाहीको डण्डाको सामना गर्नुपर्नेछ । मंगलबार काठमाडौंमा बसेको नेपाल–खनाल समूहको बैठकले ओलीको सामना पार्टीभित्रै बसेर गर्ने निर्णय गरेका छन् । एमालेभित्रै बसेर ओलीविरुद्ध संघर्ष गर्दै समानान्तर कमिटी बनाउने भएका छन् ।

नेपाल–खनालको यो निर्णयलाई ओलीलाई पनि सजिलो छैन । प्रधानमन्त्री पदको कुर्सी बचाइ राख्न ओलीले महन्थ ठाकुर जस्ता अनुदारवादी नेतासँग साँठगाँठ गर्न नेपाल–खनाल समूहले बाध्य बनाइदिएको छ । नेपालको राजनीतिमा ठाकुर निकै अनुदारवादी नेताका रुपमा परिचित छन् ।

सत्ता र आफ्नो राजनीति बचाउन ओलीले ठाकुरलाई प्रधानमन्त्री समेत बनाउन तयारी हुनुपर्नेछ । ओलीले ठाकुरलाई प्रधानमन्त्री बनाउँछन् वा बनाउँदैनन् त्यो भने हेर्न बाँकी छ । ठाकुरलाई अदृष्य विदेशी शक्तिले उचालेको आरोप लाग्दै आएको छ । ठाकुर कसेको उक्साहटमा छन् त्यो भने समयले बताउनेछ ।

ओलीले ठाकुरको साथ पाउन उपेन्द्र यादवको पार्टी जसपालाई फुटाउन पनि पछि पर्ने छैनन् । ओलीले जसपालाई फुटाउने क्रममा पूर्व राजपा र समाजवादी पार्टीका सांसदहरूलाई तानेर उपेन्द्र यादवको भन्दा महन्थ ठाकुरको पार्टी ठूलो बनाउने गरेर विभाजनको तयारी गरेको चर्चा पनि छ ।

ओलीलाई अहिले सबैभन्दा ठूलो खतरा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, मुकुन्द न्यौपाने, सुरेन्द्र पाण्डेलगायतका नेताहरूसँग छ ।

ओलीले आफूलाई रामकुमारी झाँक्रीबाट पनि असुरक्षित ठानेका छन् । रिपोर्टर्स क्लव नेपालको कार्यक्रममा पनि झाँक्रीको नाम नलिएर बिषवमन गरेका छन् ।

ओलीलाई हटाउनका लागि सबैभन्दा ठूलो चुनौती प्रचण्ड र नेपाललाई भएको छ । प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन सके भने ओलीको राजनीतिको ग्राफ ओरालो लाग्नेछ । मुलुकको राजनीतिमा त्यसपछि नयाँ मोड आउनेछ । ओलीको राजनीतिक साइज केही घट्नेछ ।

Published : Wednesday, 2021 March 31, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया