चौतर्फी एक्लिएका ओलीको कार्यक्रम बहिस्कार ! रामचन्द्र पौडेलले अनुहार पनि हेरेनन्

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको कार्यक्रममा नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसहित विभिन्न दलका नेताहरू पूरै समय नबसेर बीचमै छाडेर हिँडेका छन् ।

ओलीको निरंकुश कार्यशैल र संसद विघटन गर्न हर्कतबाट रिसाएका कांग्रेस नेता पौडेलसहितका नेताहरू ओली कार्यक्रममा आउनुभन्दा अगाडि नै बोलेर बाहिरिएका हुन् ।

काठमाडौंको राष्ट्रिय सभा गृहमा मंगलबार रिपोर्टर्स क्लव नेपालको २३औँ वार्षिक उत्सव कार्यक्रममा शुभकामना दिन आएका नेताहरू ओली आउनुभन्दा अगाडि नै बोलेर हिँडेका हुन् ।

ओली कार्यक्रममा आउनुभन्दा अगाडि नै बोलेर जानेमा कांग्रेसका वरिष्ठ नेता पौडेल राप्रपाका तेस्रो वरीयताका अध्यक्ष प्रकाशचन्द्र लोहनी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायतका रहेका थिए ।

ओलीसँग कार्यक्रमको मञ्चमा आइपुगेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ओली बोल्न थालेपछि कार्यक्रमबाट बाहिरिएका थिए । जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर भने कार्यक्रमको शुरुमा आएर अन्तिम समयसम्म बसेका थिए ।

ओलीको आलोचना नगरेर नरम सम्बोधन गरेका ठाकुरले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खुलेरै चर्को आलोचना गरेका थिए ।

ठाकुरले ओलीले आफूहरूको माग सकेसम्म पूरा गर्ने आश्वासन दिएको भन्दै खुसी व्यक्त गरेका थिए ।

कार्यक्रममा रिपोर्टर्स क्लवका अध्यक्ष ऋषि धमलाले ठाकुरलाई मुलुकको नयाँ प्रधानमन्त्री भनेर घोषणा गरेका थिए । ठाकुरलाई प्रधानमन्त्री बनाउन आफू लागेको भनेर बोलेका थिए ।

ओलीले कार्यक्रमको सबैभन्दा पुच्छारमा बोलेका थिए । कार्यक्रमको बीच भागमा आएका ओली बोल्ने क्रममा ठाकुर र ओलीका केही मन्त्रीहरूको मात्रै उपस्थिति रहेको थियो ।

ओलीको कार्यक्रमलाई एमालेबाहेक अन्य दलका नेताहरूले औपचारिक रुपमा बहिरकार नगरे पनि अनौपचारिक रुपमा अन्तिमसम्म नबसेर बीचमै हिँडेर बहिस्कारको छनक दिएका छन् ।

मुलुकको प्रधानमन्त्री रहेको कार्यक्रममा दलका नेताहरू अन्तिमसम्म बस्ने परम्परा छ । तर, ओलीको पछिल्लो हर्कत र गतिविधिबाट दिक्क भएका नेताहरू अन्तिमसम्म बसेनन् ।

ओली प्रमुख अतिथि रहेको यो कार्यक्रमलाई माओवादी केन्द्रले त बहिस्कार नै गरिदिएको छ । कार्यक्रममा माओवादीका एक जना नेता पनि उपस्थित भएनन् ।

संसद विघटन गरेपछि राजनीतिक दलहरूबाट एक्लिदै गएका ओलीको मंगलबारको सार्वजनिक कार्यक्रम निकै खल्लो हुन पुगेको चर्चा सामाजिक सञ्जालमा भएको छ । ओलीलाई पहिलो पटक एक्लिएको महसुस भएको चर्चा भएको छ ।

रिपोर्टर्स क्लवका अध्यक्ष धमलाको बचन काट्न नसकेर नेताहरू कार्यक्रममा सहभागी भएका थिए । ओली प्रमुख अतिथि भएको कार्यक्रममा नेताहरू नआउने चाल पाएका धमलाले कार्यक्रमको सेड्युल नै सोहीअनुसारको बनाएका स्रोतले जनाएको छ ।

Published : Tuesday, 2021 March 30, 7:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया