ओलीतिर औँलो उठाउँदै पौडेलले भने, ‘संसदमा बिकृति पस्यो, सत्ताको उन्माद चढ्यो’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीमा सत्ताको उन्माद चढेको आरोप लगाएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले ओलीको नाम नलिएर कार्यकारिणीमा सत्ताको उन्माद चढेको बताएका हुन् ।

‘कार्यकारिणीमा सत्ताको उन्माद चढेको छ । सत्ताको उन्माद अझै बिकृत हुँदै जाँदा यो बन्दुकको उन्मादमा पुग्दो रहेछ’, नेता पौडलले भनेका छन् ।

‘त्यो अहिले भरखरै हाम्रो छिमेक बर्मामा देखिइरहेको छ । त्यहाँ कत्रो बरबर हत्या भइरहेको छ’, उनले भने, ‘अहिले पनि हाम्रो सरकार बोल्न सक्दैन । दुनियाँमा यत्रो हमला हुँदा पनि बोल्न नसक्नेहरूको एउटा सर्कल तयार भए छ ।’

कांग्रेस नेता पौडेलले भने, ‘केही त्यस्ता शासकहरूको गठबन्धन भए छ दुनियाँमा ।’ प्रधानमन्त्री ओलीले म्यानमारमा भएको सैनिक दमनविरुद्ध बोल्न नसकेको नेता पौडेलको भनाइ थियो ।
नेता पौडेलले संसदमा बिकृति बढ्न थालेको बताएका छन् । ‘संसद अदालतबाट बचेको छ । बिकृतिबाट बच्न सकेको छैन । बिकृति देखा परिरहेको छ’, उनले भनेका छन् ।

‘संसदलाई वास्तै नगर्ने । जनआवाजलाई मतलव नराख्ने । नैतिकताको ख्यालै छैन । नैतिक पतनको राष्ट्रलाई गराइँदै छ’, उनले भने, ‘यसबाट कसरी जनअधिकारको रक्षा हुने हो ? यसमा प्रेसकै भूमिका छ । यो देशको राजनीति बर्माको नियतीमा नपुगोस् ।’

‘सत्तालाई भन्दा व्यवस्थालाई महत्व दिऔँ । व्यवस्थाको रक्षा गर्न सबै नेताहरू चिन्तित हुनु पर्‍यो’, पौडेलले भनेका छन् ।

‘देशमा राजनीतिक दलकै हालिमुहाली भएको देखिन्छ’, उनले भने, ‘राजनीतिक दलमा पनि तिनका नेताहरूको हालिमुहाली र तिनका नेताहरूमा कब्जामा देशको राजनीति छ ।’

‘तिनका नेताहरूमध्ये एकजना नेता यहिँ हुनुहुन्छ । अर्को नेता उता माथि बुढानिलकण्ठतिर, अर्को नेता उहाँ कतातिर ?’, पौडेलले प्रश्न गर्दै भने, ‘अब यो दुई तीन जना नेताहरूमा जनताको आशा छ । अब तपाईहरूको हातबाट जगेर्ना गर्नु हुन्छ कि ? यो लोकतन्त्रलाई भड्खेलामा जाओस् पार्नु हुन्छ कि ?’

Published : Tuesday, 2021 March 30, 6:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया