अर्थमन्त्री पौडेलको सत्ताको ‘पावर’ले सीडीओ र पुलिसका हाकिमहरूलाई तनाब

काठमाडौं । गृह मन्त्रालयले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ), नेपाल प्रहरी र सशस्त्र प्रहरीका एसपीको एकैचोटी सरुवा गरेको छ ।

कम्युनिस्ट सरकारका अर्थमन्त्री विष्णु पौडेलको दवावमा उनीहरूको सरुवा भएको स्रोतले जनाएको छ ।

रुपन्देहीका सीडीओ पिताम्बर घिमिरेको पर्सामा सरुवा भएको छ । पर्साका आसमान तामाङलाई रुपन्देहीमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रवीण पोखरेलको पनि सरुवा भएको छ । पोखरेलको सरुवा भएपछि मनोज केसीलाई रुपन्देही सरुवा गरिएको छ ।

सशस्त्रका एसपी भरत खनियाँको पनि सरुवा भएको छ । सशस्त्रका एसपी राजेश उप्रेतीलाई खनियाँको ठाउँमा सरुवा गरिएको छ ।

फागुन २१ गते बुटवलको रानीगञ्जमा मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न पुगेका अर्थमन्त्री पौडेल र उद्योगमन्त्री लेखराज भट्टलाई स्थानीयले लेखेटेको घटनामा पूर्वजानकारी राख्न नसकेको र सुरक्षा दिन नसकेको भन्दै सीडीओ र प्रहरीका दुबै एसपीको सरुवा गरिएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री पौडेलको पक्षमा काम नगरेको उनीहरूलाई आरोप छ । बालुवाटारको सिफारिसमा उनीहरूको सरुवा गरिएको गृह मन्त्रालय उच्च स्रोतले जनाएको छ ।

Published : Tuesday, 2021 March 30, 12:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया