एमालेका अरु दुई राम्रा नेताहरूमाथि ओलीको निशाना, पार्टीभित्र खलाबैला

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले उप–महासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएका छन् ।

ओलीले सोमबार वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावललाई ६ महिना निलम्बन गरेका छन् । ओलीले भुसाल र पाण्डेलाई पनि स्पष्टीकरण पठाउन निर्देशन दिएका हुन् ।

चैत ७ गते ओली समूहका नेताहरू मात्र सहभागी केन्द्री कमिटीको बैठकले नेपाल, रावल, भुसाल र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

चैत १० गते महासचिव ईश्वर पोखरेलले तीन दिनको समय दिएर स्पष्टीकरण सोधेका थिए । नेपाल र रावलले १२ चैतमा ओलीलाई नै प्रश्न गर्दै पत्र पठाएका थिए ।

पत्रपछि ओलीले पार्टीको साधरण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेका छन् । भुसाल र पाण्डेले कुनै जवाफ दिएका छैनन् । भुसाल र पाण्डेले कुनै जवाफ नदिएपछि ओलीले अर्को पत्र पठाइएका छन् । ओलीले पाण्डे र भुसालसँग २४ घण्टाभित्र स्पष्टीकरण मागेका छन् ।

ओलीको यो निर्णयले एमाले भताभुङ्ग हुने भएको छ । एमालेभित्रका राम्रा नेताहरूलाई ओलीले कारबाही गरेर धमाधम निकाल्न थालेका छन् । ओलीको यो कदम आत्मघाती हुने चर्चा एमालेभित्र हुन थालेको छ ।

ओलीले वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावललाई कारबाही गरेर छ महिनाका लागि निष्कासन गरेपछि एमालेभित्रैबाट नेपाल–रावलप्रति सहानुभूति बढेर गएको छ ।

नेपाल–रावललाई कारबाही गर्ने ओलीले भोलिका दिनमा आफ्ना विरोधीहरूलाई यसै गरि एक–एक गरेर निकाल्ने भनेर एमालेका नेताहरू त्रासमा बस्न बाध्य भएको चर्चा भएको छ ।

ओलीले व्यक्तिगत रुपमा ठूलो इगो लिने नेताको रुपमा आफ्नो परिचयलाई यस पटक स्पष्ट देखाएका छन् ।

Published : Monday, 2021 March 29, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया