सत्तारुढ माओवादीद्वारा कांग्रेसका बाग्लुङ जिल्ला सदस्यलाई कुटपिट, अवस्था चिन्ताजनक

बाग्लुङ । सत्तारुढ माओवादी केन्द्रका कार्यकर्ताले नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य प्रकाश कुँवरसहित दुई जनालाई आइतबार गम्भीर रुपमा घाइते हुने गरि कुटपिट गरेर फालेका छन् ।

दर्लिङ र राजकुटको सिमाना नजिकै बल्देको धुरी भन्ने स्थानमा कांग्रेस जिल्ला सदस्य कुँवर घाइते अवस्थामा फेला परेको प्रत्यक्षदर्शीले बताएका छन् । कुँवर राजकुट निवासी हुन् । घाइते अर्का एकजनाको नाम खुल्न सकेको छैन ।

घटनाका बारेमा जानकारी हुना साथ जिल्ला प्रहरी कार्यालय बाग्लुङले प्रहरी सहायक निरीक्षकको नेतृत्वमा टोली दर्लिङमा पठाएको एसपी कृष्ण पल्ली मगरले जानकारी दिए ।

‘घटना भएको सूचना पाउनेवित्तिकै प्रहरीको टोली घटनास्थल प्रस्थान गरेको छ’, एसपी मगरले भने, ‘के भएको हो बुझेर सबै कुरा भन्न सकिन्छ । अहिलेनै केही भन्ने अवस्था छैन ।’

नेपाल तरुण दल बाग्लुङका कोषाध्यक्ष देवेन्द्र घर्ती मगरले नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य प्रकाश कुँवरलाई कुटपिट गरेर गम्भीर बनाएर फालेको अवस्थामा स्थानीयले देखेको भन्ने खबर आएको बताए ।

उनले भने, ‘के कारणले घटना भएको थाहा छैन । प्रकाश कुँवरको अवस्था गम्भीर रहेको भन्ने जानकारी आएको छ ।’ घटनाको विवरण आउन बाँकी छ ।

Published : Sunday, 2021 March 28, 7:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया