कांग्रेस नेता बानियाँद्वारा हिन्दूराष्ट्र र राजसंस्था सिध्याउने शक्तिशाली अबसरवादी नाइकेको नाम घोषणा

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति ईन्द्रबहादुर बानियाँले राजसंस्था र हिन्दूराष्ट्रलाई कमल थापाले समाप्त पारेको आरोप लगाएका छन् ।

मकवानपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बानियाँले राजसंस्था र धर्मको नाममा भोट मागेर कमल थापा कम्युनिस्टहरूसँग मिलेर सरकारमा मन्त्री बनेको बताए । उनले कमल थापाहरूले झुठको खेती गरेर जनतालाई झुक्काएको बताए ।

‘सबै जातिलाई एउटै सूत्रमा बाँध्ने राजसंस्था हो । पृथ्वीनारायण शाह नै हो’, उनले भने, ‘पृथ्वीनारायण शाह र राजसंस्थाप्रति नेपाली कांग्रेसले यति लामो संघर्ष गरेको संस्थाप्रति कांग्रेसको विश्वास थियो ।’

उनले कमल थापासँग प्रश्न गर्दै भने, ‘राजालाई मुलुकबाट समाप्त गर्ने कमल (कमल थापा)दाई नै हो । किन भने राजालाई सक्रिय राजनीतिमा ल्याएको कसले ? जनताले प्रश्न गर्नुपर्‍यो ? राजाको कुरा गर्ने ? धर्मको कुरा गर्ने ? काम जति अधर्मी गर्ने ? कुरा चाहिँ गाईको फोटो राख्ने रथ यात्रा गर्ने, त्यो जात्रा दुनियालाई किन देखाउने ?’

‘धर्मप्रति ईमान्दार भए उहाँ र म ०७० उहाँ समानुपातिकबाट आएको, मलाई तपाईहरूले जिताएको । ०७० मा सांसद सँगै हुँदा संसदमा उहाँलाई भन्ने हो भने साँच्चै धर्मनिरपेक्षको मन्त्री किन खाएको ?’, उनले प्रश्न गर्दै भने, ‘उहाँ (कमल थापा) हिन्दु धर्म मान्ने, हिन्दु धर्मप्रति ईमान्दार हुने, राजसंस्थाप्रति ईमान्दार हो भने जबसम्म यो मुलुकमा हिन्दु धर्म कायम हुँदैन, जबसम्म यो मुलुकमा राजसंस्था स्थापित गर्न सक्दैन, म यो व्यवस्थाभित्र निरन्तर संघर्ष गर्छु, मेरो पार्टी सरकारमा जाँदैन, मन्त्री खाँदैन भन्न उहाँले किन नसकेको ? हामीले बुझ्नुपर्ने कुरा त्यहाँ छ ।’

‘कमल थापाले जनतालाई झुक्काउनु हुँदैन भन्ने कुरा गरेको हुँ । झुक्काएर भोट खान मिल्दैन’, उनले भनेका छन् ।

‘ठीक कुरा नगर्ने हो भने उहाँ र कम्युनिस्टमा के फरक रह्यो ? कम्युनिस्टले जम्मै कुरा झुठो कुरा गर्ने काम भने जनताको गर्छु भन्ने’, उनले भने, ‘काम सबै श्रीमतीको गर्ने, काम जम्मै दलाल र पुँजीपतिको गर्ने, पैसा कमाउनेतिर लाग्ने । कुरा गरिवको गर्ने, जनता ठग्ने, मत लिने । कमल दाई र कम्युनिस्टमा के फरक भयो ?’

उनले भने, ‘कुराभरि राजा र राजसंस्थाको गर्ने, भोट खाने, धर्मको नाममा खाने । ०७० सालमा उहाँले धर्मको नाममा समानुपातिक आएको होइन ।’

‘उहाँ (कमल थापा)ले राम्रो काम गरेको भए उहाँको पार्टीले ०७४ मा कहाँ कहाँ जित्यो त ? झापामा केपी बाले सहयोग गरेर जितेको त्यही एउटा त हो’, कांग्रेस नेता बानियाँले भने, ‘धर्म र राजाका बारेमा ईमान्दार भएर काम गरेको भए जनताले मत त्यति तल दिँदैन थिए नि ? हामी पनि धार्मिक स्वतन्त्रताको पक्षमा छौँ ।’

‘कोही हिन्दु, कोही क्रिश्चियन, कोही मुसलमान, बुद्धिस्ट होलान् । बुद्धिस्ट र हिन्दुहरू एउटै पाटाका दुइटा सिक्का हुन् । कांग्रेसले अर्को धर्मलाई समान रक्षा गर्छ । नेपालमा हिन्दु राष्ट्रभित्र सबै धर्म अटाउन सकुन भन्ने चाहना छ’, उनले भनेका छन् ।

‘०४६ सालपछिको परिवर्तनमा कांग्रेसले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था राखेको हो । हिन्दु राष्ट्र र राजसंस्था फाल्ने काम त कमल दाईले गरेको हो’, उनले भने, ‘गणतन्त्रमा ल्याउनुमा उहाँको ठूलो योगदान छ । राजालाई सक्रिय राजनीतिमा नल्याइदिएको भए, सक्रिय राजतन्त्रमा ल्याउन कोशिस नगरेको भए । कांग्रेसले राजसंस्था नै छोड्दै छोड्दैन थियो ।’

हिन्दु राष्ट्र र राजसंस्थाको नारा लगाउँदै आएका कमल थापाहरू कम्युनिस्टहरूसँग मिलेर सरकारमा मन्त्री बनेका थिए । उनीहरूकै कारण देशमा हिन्दु राष्ट्र र राजसंस्था माग गर्नेहरूको नारा ओझेलमा परेको आरोप लाग्दै आएको छ ।

Published : Sunday, 2021 March 28, 12:45 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया