विष्णु पौडेलपछि ओलीका अर्का मन्त्रीलाई जनताले लखेटे, ज्यान बचाएर ‘फरार’

कटारी । उदयपुर जिल्लामा कम्युनिस्ट सरकारका उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री टोपबहादुर रायमाझीलाई जनताले लखेटेका छन् ।

बिहीबार मन्त्री रायमाझी हेलिकप्टरबाट कटारी नगरपालिका–४ मरुवामा आएका थिए ।

मन्त्री रायामाझीलाई स्थानीयले लखेटेपछि सुरक्षाकर्मीहरूले बचाएर सुरक्षित स्थानमा लगेका हुन् ।

रायमाझी कटारी–सोलु करिडोर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइनको कटारी–४ मा विद्युत् प्रसारण लाइनको टावर राख्ने विषयमा भएको विवाद मिलाउन आएका थिए । स्थानीयको अवरोधपछि मन्त्री रायमाझी ज्यान बचाएर फर्किएका छन् ।

प्रसारण लाइनको टावरहरू राख्न स्थानीयले विरोध जनाएर नरावाजी गरेपछि मन्त्री रायमाझीले नेपाली सेना लगाएर भए पनि टावर राख्ने जनाएका थिए । त्यसपछि स्थानीयको आक्रोश बढेर उग्र भएपछि मन्त्री रायमाझीलाई बचाएर सुरक्षाकर्मीले लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

स्थानीयले घरबास उठ्ने भन्दै कोरिडोरको टावर गाउँमा राख्न नदिने माग गरेका थिए ।

टावरलाई स्थानीयले जंगलबाट लैजान मन्त्री रायमाझीलाई सुझाव दिएका थिए ।

आक्रोशित स्थानीयको भीड थाम्न नसकेपछि सुरक्षाकर्मीले मन्त्री रायमाझीलाई घेरा हालेर सुरक्षित स्थान नगरपालिका लगेको थियो ।

मरुवास्थित मरुवा हरित सामुदायिक वनका उपभोक्ताको अवरोधका कारण प्रसारण लाइन निर्माणको काम दुई वर्षयता रोकिएको छ ।

सो क्षेत्रमा स्थानीयले क्षति पु¥याउने भन्दै अन्यत्रैबाट टावर निर्माण गर्न र बस्तीमा निर्माण गर्न नदिने अडान कायमै राखेका छन् ।

लामो समयदेखि अवरुद्ध आयोजनाका विषयमा यसअघि पनि पटक–पटक छलफल हुँदै आएको थियो ।

प्रसारण लाइनको बाटो (राइट अफ वे) मा पर्ने ऐलानी जमिनको समेत मुआब्जा पाउनुपर्ने र प्रसारण लाइनको टावर प्रस्तावित स्थानभन्दा अन्यत्रै सार्नुपर्नेलगायत सर्त राखेर स्थानीयले काममा अवरोध गर्दै आएका छन् ।

प्रसारण लाइन निर्माणमा भएको ढिलाइका कारण राष्ट्रिय प्रसारण लाइनमा जोडिन नसक्दा गत २०७६ माघ २० देखि व्यवसायिक उत्पादन गर्दै आएको सोलुखोला हाइड्रो पावरको २३ मेगावाटमध्ये ४.५ मेगावाटबाहेक सबै बिजुली खेर गइरहेको छ ।

सिरहाको मिर्चैयादेखि सोलुखुम्बुको तिङलासम्म ९० किलोमिटर लामो प्रसारण लाइन निर्माण भइरहेको छ ।

कुल ९० किलोमिटर प्रसारण लाइनमध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन टाङ्ने कामसमेत सकिएको छ ।

स्थानीयले ‘ऊर्जा मन्त्री मुर्दावाद’, ‘सेना परिचालन गरे, गोली थाप्छौं’, जस्ता नारावाजी गरेका थिए ।

माउ पार्टी माओवादी केन्द्र छाडेर खड्गप्रसाद ओली नेतृत्वको एमालेमा प्रवेश गरेका रायमाझीलाई मन्त्री बनाएर राखिएको छ । रायमाझीले स्थानीयलाई भड्काएर लखेटिनु परेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

रुपन्देहीमा ओलीका अर्थमन्त्री विष्णु पौडेललाई स्थानीयले केही हप्ता अगाडि लखेटेका थिए । त्यसपछि ओलीका अर्का मन्त्री रायमाझी लखेटिएका छन् ।

Published : Saturday, 2021 March 27, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया