निर्वाचन जितेर कांग्रेसले एकलौटी सरकार बनाउँछः डा.प्रकाशशरण महत

जनकपुरधाम । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सबै मिलेर सहमतिमा चुनावी सरकार बनाउने हो भने कांग्रेस नेतृत्व गर्न तयार रहेको बताएका छन् ।

नेपाली कांग्रेस महिला विभागले प्रदेश २ को जनकपुरधाममा शुक्रबार आयोजना गरेको प्रशिक्षणलाई सम्बोधन गर्दै डा.महतले सरकारको नेतृत्व गर्न कांग्रेस तयार भएपनि अंकगणित नपुग्ने बताए । उनले सोही कारण कांग्रेसले कमजोर बनेर सरकारको नेतृत्व गर्नेभन्दा पनि डेढ वर्षपछि हुने निर्वाचनको तयारीमा लागेको बताए ।

‘मिलेर सरकार बनाऔँ भन्ने निष्कर्ष सबै पुग्छन् भने चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्छ’, डा.महतले भने, ‘होइन, अनेकौँ बहानाबाजी गर्ने, कताबाट बढी फाइदा हुन्छ भनेर हेर्ने, त्यस्तो गरेर केही पनि गर्न नसक्ने गरेर हातखुट्टा बाँधेर नेपाली कांग्रेसले अहिले सरकार बनाउँदैन । जसले बनाउँछ बनाओस् ।’

पूर्वमन्त्री समेत रहेका डा.महतले कांग्रेस हातखुट्टा बाँधेर सरकारको नेतृत्व लिन इच्छुक नरहेको बताए ।

‘हामीले चुनावलाई केन्द्रित गरेका छौँ । डेढ वर्षमात्रै बाँकी छ’, सह–महामन्त्री डा.महतले भने, ‘अब बन्ने सरकार डेढ वर्षपनि चल्छ चल्दैन थाहा छैन ।’

उनले भनेका छन्, ‘कुनै पनि बेला चुनाव हुने अवस्था आउन सक्छ । त्यस कारण कांग्रेसको प्राथमिकता चुनावको तयारी हो ।’

‘चुनावबाट एक्लै सरकार बनाउने हाम्रो लक्ष्य हो । त्यसमा हामी केन्द्रित हुनुपर्छ’, उनले भनेका छन् ।

‘ओली सरकार खराब छ । ओली सरकारले ब्यापक रुपमा जनअधिकारलाई कुण्ठित गर्दैछ । काम गरेको छैन । कुरा मात्रै गरेको छ’, डा.महतले भने, ‘ओली सरकारको बिकल्प आवश्यक छ ।’

‘हामीसँग संख्या छैन । अंकगणितले सरकार बन्छ । सरकार बनाउन अरु दलको सहयोग चाहिन्छ, उनीहरू ओलीको बिकल्पको लागि स्पष्ट ढंगबाट तयार भएको अवस्था छैन’, उनले भनेका छन् ।

‘हामीले हातखुट्टा बाँधेर सरकारमा जसरी पनि जानेभन्ने बाटोमा नेपाली कांग्रेस छैन’, उनले भने, ‘सहज रुपमा ओलीको बिकल्प आवश्यक छ भन्ने स्थितिमा हामीले सरकार बनाउने हो । त्यो स्थिति अहिले देखिएको छैन ।’

डा.महतले भनेका छन्, ‘महिलाको अधिकार सुनिश्चित गर्ने, महिलालाई संविधानअनुसारको व्यवस्था गर्ने नेपाली कांग्रेसले नै हो ।’

‘महिलाको सहभागितालाई हामीले व्यापक रुपमा सुनिश्चितता गरेर लैजान्छौँ । महिला सशक्तिकरण हाम्रो मूल लक्ष्य हो’, उनले भनेका छन् ।

सह–महामन्त्री डा.महतले कम्युनिस्ट पार्टी र मधेस केन्द्रित पार्टीहरूले मधेसका जनतालाई पटक–पटक धोका दिएको बताए ।

‘कम्युनिस्ट पार्टी र मधेस केन्द्रित पार्टीहरू चुनावको नजिक हुँदा मधेसी जनताको अधिकारको कुरा गर्छन्’, उनले भने, ‘चुनाव सक्किएपछि सत्तामा रहेका पार्टीसँग जोडिएर सरकारमा जाने मात्रै सोँच्छन् ।’

‘कम्युनिस्ट पार्टी र मधेस केन्द्रित पार्टीलाई पराजित गरेर कांग्रेसले सरकार बनाउने वातावरण बन्यो भने मात्रै मुलुक अगाडि बढ्न सक्छ’, डा.महतले भनेका छन् ।

कार्यक्रममा केन्द्रीय सदस्य एवम् महिला विभागकी प्रमुख ईश्वरी न्यौपाने, केन्द्रीय सदस्य फर्मुलाह मन्सुर, चित्रलेखा यादव, महेन्द्र यादव, श्याम घिमिरे, सीता गुरुङलगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

Published : Friday, 2021 March 26, 6:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया