महेश बस्नेतद्वारा पावरको दुरुपयोग, इन्स्पेक्टरको जागिर धरापमा, अपराधीसँग बर्जित काम गरे

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्दै आएका एमालेका नेता महेश बस्नेतले डिल्लीबजार कारागारमा सामूहिक हत्या गरेको अभियोगमा सजाय काटीरहेका रेशमलाल चौधरीलाई भेट गरेका छन् ।

बिहीबार साँझ नेता बस्नेतले जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता चौधरीलाई डिल्लीबजारको कारागारभित्र भेट गरेका हुन् । भेटमा के–के कुराकानी भएको थियो केही भनिएको छैन ।

प्रतिनिधि सभाका सांसद समेत रहेका एमालेका नेता बस्नेतले चौधरीलाई भेटेर शुक्रबार पार्टीको कार्यक्रममा भाग लिन उपत्यका बाहिर गएका छन ।

बिहीबार गृहमन्त्री रामबहादुर थापाले माइतीघर मण्डलामा पुगेर जेलमा सजाय काटीरहेका चौधरीको रिहाइ माग गरेर धर्ना बसेका थिए ।

सांसद अपहरण काण्डमा मुछिएका बस्नेतले चौधरीलाई भेटेर जेलभित्रको फोटो समेत सार्वजनिक गरेका छन् । कानूनले जेलभित्र कैदीलाई भेट गरेको फोटो खिच्न र सार्वजनिक गर्न पाइँदैन ।

डिल्लीबजार कारागार कार्यायका जेलर बसन्त पुरीले जेलभित्र कैदीसँग फोटो खिच्न कानूनीले बर्जित गरेको बताए । उनले भने, ‘कारागारभित्र कैदीसँग वा कैदीको फोटो खिच्न पाइँदैन ।’

डिल्लीबजार कारागारको सुरक्षाको जिम्मेवारी नेपाल प्रहरीका निरीक्षक (ईन्स्पेक्टर) सुजित तामाङले लिएका छन् । तामाङले एमालेका नेता बस्नेत र जसपाका नेता चौधरीलाई के कति कारणले फोटो खिच्न दिएका हुन् रहस्यको विषय बनेको छ ।

कारागारभित्र कैदीसँग फोटो खिच्नदिने ईन्स्पेक्टर तामाङलाई कारबाहीको माग उठेको छ ।

सत्ताको आडमा एमालेका नेता बस्नेतले चौधरीसँग भेट गरेको तस्वीर खिचेर सार्वजनिक गरेर कानून र संविधानको खिल्ली उडाएका छन् ।

एमालेका नेता बस्नेतलाई यसअघि पनि कानून र संविधान नमानेको भनेर आलोचना हुँदै आएको थियो ।

Published : Friday, 2021 March 26, 5:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया