कांग्रेस नेता खाणले कम्युनिस्टलाई औकात सम्झाइदिए, यसरी समाप्त हुँदै छन् कम्युनिस्टहरू

भैरहवा । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवम् संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले दुनियाँका कम्युनिष्टहरूले लोकतन्त्र चाहँदैनन् भन्ने पुष्टि भएको बताएका छन् ।

कांग्रेसको महिला विभागले बुधबार भैरहवामा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्दै नेता खाणले नेपालमा कम्युनिष्ट सरकारभन्दा पनि कम्युनिस्ट राज्य स्थापना गर्न चाहेको आरोप लगाए । उनले नेपालको संविधानले बहुदलीय राजनीतिक व्यवस्था स्थापित गरिदिएको बताए ।

नेपालको संविधानको कसैको निरंकुशता, अधिनायकवाद स्थापित गर्न नदिने उनले बताए । उनले भने, ‘यो संविधानमाथि प्रहार गर्नुभनेको जनताको अधिकारमाथि प्रहार गर्नु हो । लोकतन्त्रमाथि प्रहार गर्नुभनेको नेपालका कम्युनिस्टहरू नेपालको राष्ट्रिय राजनीतिबाट समाप्त हुनु हो ।’

खाणले नेपालका कम्युनिष्टहरू निभ्ने बेलाको दीयो जस्तै रहेको बताए । जतिसुकै उज्यालो र शक्तिशाली देखिए पनि कम्युनिष्टहरू निभ्ने बेलाको दीयो जस्तै रहेको कांग्रेस नेता खाणले बताएका छन् । उनले निरंकुश कम्युनिस्टहरूको अन्त्य हुने दाबी गरे ।

खाणले सरकारले जारी गरेका अध्यादेशलाई विधेयककै रूपमा संसदमा अगाडि बढाउनुपर्ने बताएका छन् । ‘ती अध्यादेशलाई अगाडि बढाउने सम्बन्धमा सरकार गम्भीर छैन’, खाणले भनेका छन् ।

कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्या ‘डिना’ले विश्वका महिला र नेपालका महिला कहाँ छन् ? यसको लेखाजोखा गर्नुपर्ने बेला आएको बताए । उनले महिला विभागले महिलालाई पर्ने हरेक आवाजलाई समेट्ने बताइन् ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कंडेल, किशोरसिंह राठौर, कृष्णकिशोर घिमिरे, प्रतिनिधि सभाको लेखा समितिका सभापति भरत शाह, लुम्बिनी प्रदेशकी संसद निर्मला केसी, पुष्पा थरुनी, रिना नेपाल, माला गोतामे, रुन्दावती शर्मा कोदार, गण्डकी प्रदेशकी प्रमुख सचेतक ओमकला गौतम, संसद ललितकला गुरुङ, रुपन्देही कांग्रेसका सभापति अब्दुल रज्जाक, दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, नवलपरासी कांग्रेसका सभापति विष्णु खनाल, पालिनन्द गाउँपालिकाकी उप–मेयर पवित्रा पौडेललगायतले शुभकामना दिएका थिए ।

नेपाली कांग्रेस महिला विभागकी प्रमुख ईश्वरी न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा विमला गैरेले स्वागत गरेकी थिइन् । महिला विभागकी सचिव लक्ष्मी खतिवडाले सञ्चालन गरेकी थिइन् ।

Published : Wednesday, 2021 March 24, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया