ओली–प्रचण्डलाई व्यापारी प्यारो, ‘म्याच’ भयो दुबैबीच एउटा कुरा

काठमाडौं । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले व्यापारीको घरमा पार्टी कार्यालय सार्ने निर्णय गरेका छन् ।

काठमाडौंको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयलाई ओलीले थापाथली हाइटमा सार्ने निर्णय गरेका हुन् ।

बुधबार ओलीले नयाँ पार्टी कार्यालयको स्थलगत निरक्षण गरेका छन् । दलबलसहित नयाँ पार्टी कार्यालय पुगेका ओली खुसी हुँदै फर्किएका छन् ।

नयाँ पार्टी कार्यालय ओलीका आर्थिक मामिला सल्लाहकार मोती दुगडले खोजेका हुन् । कम्पाउण्डसहितका यो घर सुविधा सम्पन्न छ ।

साढे दुई तलाको यो घरमा १३ वटा कोठा छन् । एमालेको नयाँ पार्टी कार्यालयमा ओलीको भजन गाउने गरि एउटा रोबर्ट पनि राखिनेछ ।

व्यापारी सञ्जय अग्रवालले एमालेलाई पार्टी कार्यालय राख्न घर दिएका हुन् । एमाले निकट व्यापारी अग्रवालले भाडाको टुंगो नलगाइकनै पार्टी कार्यालयका लागि घर दिएका छन् । ओलीले वैशाख १ गतेबाट अग्रवालको घरमा पार्टी कार्यालय सार्नेछन् । त्यसभन्दा अगाडि धुम्बाराहीबाट सामान सारिनेछ ।

कानूनी व्यवस्थाअनुसार घर भाडामा लगाउनुभन्दा अगाडि सम्झौता गर्ने परम्परा हुन्छ । पाँच वर्षका लागि भाडामा लिइएको यो घरको बुधबारसम्म ओलीले सम्झौता गरेका छैनन् ।

घर भाडाका विषयमा पनि केही भनिएको छैन । थापाथलीमा घर भाडा निकै महँगो मानिन्छ ।

ओलीलाई एमालेको पार्टी कार्यालय राख्न व्यापारी अग्रवालले घर दिएका छन् । सत्तारुढ एमालेलाई व्यापारीकै घर कसरी जु¥यो भनेर विभिन्न खालका अड्कलबाजी पनि भएका छन् ।

यसअघि, एमालेले धुम्बाराहीमा पासाङ लाम्हु पर्वतारोहण प्रतिष्ठानको भवनमा कार्यालय राखेको थियो । प्रतिष्ठान यती समूहको हो ।

सरकारी सुविधानमा बनेको प्रतिष्ठानको भवनमा यती समूहले एमालेलाई निःशुल्क बस्न दिएको भन्दै आलोचना समेत भएको थियो । धेरै आलोचना भएपछि प्रतिष्ठान र एमालेले भाडामा बसेको भनेर दाबी गरेका थिए ।

अहिले पनि सत्तारुढ एमालेको पार्टी कार्यालय राख्नका लागि व्यापारीकै घर आइलागेको छ । एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता नदिएपछि दुबै पार्टी अलग–अलग भएका छन् ।

धुम्बाराहीको पार्टी कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरूलाई बस्ने व्यवस्था गरिएको थियो ।

हुन त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि ललितपुरको खुमलटारमा व्यापारीकै घरमा भाडामा बसेका छन् । प्रचण्डका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारी हुन् ।

अधिकारीले ठेक्का लिएर समयमा काम नगरेको भन्दै कारबाहीमा पर्नेदेखि जनतस्तरमा बदनामी कमाएका छन् । प्रचण्डले ठेकेदार अधिकारीलाई कति भाडा तिर्छन् स्पष्ट केही भनिएको छैन ।

ओलीले पनि व्यापारीकै घरमा पार्टी कार्यालय सार्न लागेका छन् । ओलीले भाडा कति तिर्ने हुन् केही भनिएको छैन ।

Published : Wednesday, 2021 March 24, 6:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया