भारतद्वारा ३५ हेक्टर जमीन कब्जा गर्दा बोलेन राष्ट्रवादी ओली सरकार, कांग्रेसका बडूद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले भारतले दार्चुला जिल्लाको सदरमुकाम खलंगामा नेपाली भूमि मिचेर तटबन्ध बनाएको भन्दै खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकारसँग जवाफ मागेका छन् ।

संसदको मंगलबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेसका सांसद बडूले भारतले ३५ हेक्टर नेपाली भूमि मिचेको बताए । उनले भारतले नेपाली भूमि मिचेर संरचना बनाउँदा पनि ओली सरकार किन चुपचाप बसेको भनेर प्रश्न गरेका छन् ।

‘भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको कुनै सहमति र जानकारीविना हाम्रो जमीन समेत आफूभित्र समेटेर तटबन्द बनाइरहेको अवस्था छ’, उनले भने, ‘यो तटबन्ध तत्काल रोकिनुपर्छ भनेर सीडीओले पारिपट्टिको डीएम र एसडीएमलाई पत्राचार गरे तर, सुनुवाई भएन ।’

‘त्यहाँका जनताले विरोध जनाए । पार्टीका भ्रातृ संस्थाहरूले विरोध जनाए । सीडीओमार्फत ज्ञापनपत्र दिए’, उनले भने, ‘पटक–पटक ताकेता भएको छ नेपाल सरकारमा, गृहमन्त्रालयमा तर, नेपाल सरकार सुतिरहेको छ । बेखबर छ । मौन सहमति गरिरहेको छ यो निर्माणका क्रममा ।’

कांग्रेसका सांसद बडूले भने, ‘६ वर्ष पहिला २०७० साल असार २ गते भीषण बाढी आयो । १ हजार ४७ रोपनी जमीन खोलाले बगायो । त्यसमध्ये धेरै ठूलो हिस्सा भारततिर गयो । ठूलो जमीन भारततिर गएर बसेको छ ।’

‘खलंगास्थित गल्फैको पारिपट्टि ३५ हेक्टर जमीन दार्चुलाको गल्फै क्षेत्रको हस्पिटल, वन कार्यालय, भू–संरक्षण कार्यालय, दुइटा नर्सरीहरू, सामुदायिक जंगल, मन्दिर क्षेत्र सबै पारिपट्टि पुगेको छ’, उनले भने, ‘खोलाको धार परिवर्तन बाढीको कारणले नेपाली जमीन भारततिर गयो ।’

‘भारत सरकारले आफ्नो तर्फ पक्कि तटबन्ध मात्र बनाएन नदीभित्र स्परहरू तयार गरेर हाम्रो मूलधारलाई नेपालतर्फ आउने गरेका कारणले समस्या बनायो’, उनले भने, ‘२८० मेगावाटको धौलीगंगा हाइड्रोप्रोजेक्टको रिजरवायर हाम्रै सिमानामा परेको छ ।’

उनले भने, ‘बाढीका बेला रिजरवायरको बाँध फुटेर आयो । त्यसले दुई सय मिटरमाथि रहेको हाम्रो बजार क्षेत्र सखाप पारेको अवस्था हो । हामीले तटबन्ध पनि बनायौँ ।’

‘१२–१३ सेप्टेम्बर २०१३ मा हामीले तटबन्ध बनाउँदा भारत सरकारसँग ज्वइन्ट स्टेटमेन्ट गरियो । ज्वइन्ट मिटिङ बसियो । लोकलस्तरमा बसियो’, बडूले भनेका छन्, ‘हाम्रो जमीन उता पर्‍यो, उताको जमीन हामीतिर पनि प¥यो होला । त्यो जमीन कसैले पनि नछुने कानूनी व्यवस्था छ ।’

उनले भने, ‘यो कुराको बेखबर रहेर हाम्रो सहमतिविना ३५ हेक्टर जमीन बगर बनेको छ त्यसलाई आफ्नो हिस्सामा मिलाउने गरि तटबन्ध बनाउन थालिएको छ ।’

‘हाम्रो भूमि त मिचियो–मिचियो । त्यसलाई मिचेर नदीतिर आएर बनाउँदा अबको वर्षातमा गल्फै, नमस्कार, खिम्तडी, कुकु, बाँकु जम्मै एरिया सखाप हुने खतरा भयो’, कांग्रेसका सांसद बडूले भनेका छन् ।

‘यति बेला सरकार के गररहेको छ ? सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु । सीडीओसँग सोध्दा खै नेपाल सरकारले केही गर्दैन ? हामीले झगडा गरेर ढुंगा हानेर हुँदैन ? भन्ने जवाफ दिनुहुन्छ’, उनले भनेका छन् ।

‘दार्चुलाकै गणेश ठगुन्ना मन्त्री हुनुहुन्छ । मन्त्रीले पनि केही सुन्न भएको छैन । पत्रपत्रिकाहरूले यसको विरोधमा व्यापक लेखिरहेका छन् । किन सुनिएको छैन ? परराष्ट्रको प्रवक्तालाई कुनै जानकारी छैन’, बडूले भने, ‘यो के हो ? कसका लागि हुँदै छ ? कसको सेवा हुँदैछ ? आफ्नो भूमि बचाउने कुरामा हाम्रो गाउँ सखाप हुने अवस्थामा हुँदा पनि भारतसँग हामी बोल्न सक्दैनौँ । तत्काल यो निर्माण कार्य रोक्नुपर्दछ ।’

‘दुई देशका बीच सहमति भएका माइन्युटहरूअनुसारको व्यवहार हुनुपर्छ । लालपुर्जा भएको जमीन पारिपट्टि छ’, उनले भने, ‘जमीन गुम्ने अवस्था छ । बाँकी जमीन पनि नेपालको सखाप हुँदैछ । यो देशको भौगोलिक अखण्डताको कुरा हो । अन्तर्राष्ट्रिय कानूनको कुरा हो । सिमानामा संरचना बनाउँदा जानकारी दिनुपर्छ ।’

‘हाम्रो सहमतिविना भारतले किन निर्माण कार्य गरिरहेको छ ? सरकार किन मौन छ ? सरकाले जानिजानी हो अथवा उसले नजानेको के हो ? जनतालाई कसले बताउनुपर्ने ? भोलिदेखिनै भारतले बनाएको संरचना रोकिनुपर्छ’, उनले भने, ‘यो कुटनीतिक होइन, तत्काल आदेश दिनुपर्छ । सीडीओले आदेश पर्खिएर बसेको छ । आदेश दिँदैन नेपाल सरकार । के गर्दै छ परराष्ट्र र गृह मन्त्रालय ?’

उनले भने, ‘पुसको महिना काम शुरु भएको हो । पुसको ५ गते कर्मचारीको टोली पनि केन्द्रबाट पठाएको रहेछ । त्यो भूमि हाम्रो हो । ओगटिएको छ । गुम्न दिनु हुँदैन । प्रतिवेदनमा पनि कुरा आएको छ ।’

‘सरकार कानमा तेल हालेर सुतेको छ । सरकार के गर्दैछ ? किन सार्वभौम सत्ता र भौगोलिक अखण्डता, माटोको बारेमा पनि बोल्न नसक्ने ? यो राष्ट्रवादी सरकार आफूलाई भन्ने के हो यो राष्ट्रवाद व्यवहारमा हो कि भाषणमा मात्रै हो ? हाम्रो माटो जोगिनुपर्छ’, उनले भनेका छन् ।

‘दुई देशबीचको बैठक बसोस् । गलत कुरा सच्याइयोस् । संसदको अर्को बैठकमा यो विषयमा सरकारले जवाफ दिनुपर्छ’, उनले भनेका छन् ।

Published : Tuesday, 2021 March 23, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया