ओलीका केन्द्रीय सदस्य डोल्पा कांग्रेसमा प्रवेश, कर्ण बुढाद्वारा स्वागत

दुनै । नेकपा (एमाले)को भ्रातृ संगठन युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् संगठित सदस्य तेजेन्द्रबहादुुर रोकाय नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

युवा संघका केन्द्रीय सदस्य रोकायलाई कांग्रेसका केन्द्रीय सदस्य कर्ण बुढाले पार्टीम स्वागत गरेका हुन् । रोकायले आफूसँगै वडाका ६५ जना युवा र स्थानीयलाई कांग्रेसमा ल्याएर प्रवेश गराएका छन् ।

युवा संघका केन्द्रीय सदस्य रोकाय नेपाली कांग्रेसमा प्रवेश गरेपछि एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई तनाब भएको छ ।

डोल्पा जिल्लाको ठूलीभेरी नगरपालिकाको वडा नं. १ मा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बुढाले रोकायलाई पार्टीमा भित्र्याएका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य बुढाले कम्युनिस्टहरूले राजनीतिक स्थायित्वका लागि भोट मागेर बीचमै सरकार चलाउन नसकेर लाभको राजनीतिमा लागेको बताए । उनले भने, ‘कम्युनिस्टहरू व्यक्तिगत स्वार्थमा लागेका छन् । झण्डै दुईतिहाइ बहुमत पाउँदा पनि जनताको काम गर्न सकेनन् । कांग्रेसमा प्रवेश गर्नेका लहरनै चलेको छ ।’

एमाले र युवा संघ परित्याग गरेर कांग्रेस प्रवेश गरेका रोकायले डोल्पामा कांग्रेसले अबको निर्वाचनमा क्लीन स्वीप गर्ने बताए । ‘डोल्पामा कांग्रेसले अबको निर्वाचन जित्नेछ’, उनले भने, ‘कम्युनिस्टहरूको व्यक्तिगत स्वार्थ र चरित्रविरुद्ध जनता सचेत भएका छन् । कम्युनिस्टका मतदाताले कांग्रेसलाई बिकल्पका रुपमा लिएका छन् ।’

कांग्रेसलाई भोट हाल्न एमालेका मतदाताहरू आतुर भएर बसेको रोकायले बताए ।

कांग्रेसमा प्रवेश गरेका युवा संघका केन्द्रीय सदस्य रोकाय डोल्पाका लोकप्रिय युवा नेता हुन् ।

ठूलीभेरी नगरपालिका– १ निवासी रोकाय युवाका ढुकढुकी हुन् । २०६२ सालदेखि एमालेको सांगठानिक सदस्य रहेका रोकाय डोल्पाको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत हुन् । युवा संघ डोल्ला जिल्लाको सचिवको जिम्मेवारी चलाएका रोकाय स्थानीय चुनावमा वडाध्यक्षमा झिनो मतले पराजित भएका थिए ।

केन्द्रीय सदस्य बुढाले नवप्रवेसीहरूलाई उच्च राजनीतिक मनोवलका साथ काम गर्न निर्देशन दिएका छन् ।

केन्द्रीय सदस्य बुढाले डोल्पा कांग्रेसका युवा र पुराना नेताहरूलाई साथमा लिएर संगठन निर्माण गर्दै आएका छन् ।

डोल्पा कांग्रेसका क्षेत्रीय सभापति बेगमसिंह ठकुरीले पनि डोल्पामा कांग्रेसप्रति कम्युनिस्टका कार्यकर्ताको आकर्षण बढ्दै गएको बताए ।

ठूलीभेरी नगरपालिका– १ का वडा सभापति दशरथ रोकाया, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष शैलेन्द्र हमाल, महासमिति सदस्य गौरीशंकर उपाध्यय, जिल्ला सचिव हिक्मत शाही, डोल्पाको क्षेत्र नम्बर १ का सभापति एवम् प्रदेश सांसदका उम्मेदवार बेगमसिंह ठकुरी, पूर्व सचिव लवकुमार शाही, नेपाल तरुण दल डोल्पाका अध्यक्ष तुलबहादुर बोहोरा, नेविसंघका पूर्व केन्द्रीय सदस्य पुर्णबहादुर शाही, डोल्पा कांग्रेसका उप–सभापति श्याम रोकाया, नेविसंघ डोल्पाका सचिव पुष्पकुमार शाहीलगायतको पार्टी प्रवेश कार्यक्रममा सहभागिता रहेको थियो ।

Published : Tuesday, 2021 March 23, 10:00 am

फेसबुकबाट तपाईको प्रतिक्रिया