सिन्धुपाल्चोक एमाले–माओवादीका कार्यकर्ता कांग्रेसमा प्रवेश, बस्नेतद्वारा काठमाडौंमा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद विभागका प्रमुख मोहनबहादुर बस्नेतले एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ताहरूलाई पार्टीमा स्वागत गरेका छन् ।

काठमाडौंको बौद्धमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बस्नेतले एमाले र माओवादी केन्द्र परित्याग गरेका नेता कार्यकर्तालाई स्वागत गरेका हुन् ।

काठमाडौंमा विशेष कार्यक्रम गरेर सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर एमाले र माओवादीका कार्यकर्ताहरू ठूलो संख्यामा कांग्रेस प्रवेश गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका बस्नेतले कांग्रेस ऐतिहासिक र प्रजातान्त्रिक पार्टी भएकाले यस पार्टीप्रति सबै आस्था रहनु स्वाभाविक रहेको बताए । उनले कांग्रेसले सबै नेता कार्यकर्तालाई समान रुपमा लिने बताए ।

उनले कम्युनिस्टहरू सरकार चलाउन असक्षम भएको भन्दै जनता समक्ष चुनावमा गरेको प्रतिवद्धताहरू कुनै पनि पूरा गर्न नसकेको बताए ।

पाँच वर्षको लागि सरकार चलाउने जिम्मेवारी दिएको निर्वाचित कम्युनिस्ट नेताहरूले प्रतिपक्षमा रहेको कांग्रेसलाई सरकार चलाउन सकिएन कांग्रेसले चलाउनु प¥यो भनेर विन्तपत्र हाल्न आएको उनले बताएका छन् ।

कांग्रेस जनताको मतको कदर गरिरहेको भन्दै बस्नेतले जनतालाई कांग्रेसप्रति विश्वास बढेर गएको बताए ।

उनले देश सङ्कटमा जान लाग्दा सङ्कटबाट बचाउने काममा कांग्रेसले मात्रै गर्ने बताए ।

केन्द्रीय सदस्य बस्नेतले नवप्रवेशीहरूलाई पार्टीमा उच्च सम्मानका साथ व्यवस्थापन गर्ने बताए ।

उनले भने, ‘देशमा जुनबेला संकट पर्छ, त्यस बेला कांग्रेसले नेतृत्व गरेको इतिहास छ । कांग्रेसले सधैँ देशलाई निकास दिएको छ ।’

कम्युनिस्टले देश सङ्कटमा धकेली रहेको बेला कांग्रेसले नेतृत्व लिने बेला आएको केन्द्रीय सदस्य बस्नेतले बताएका छन् ।

समाजसेवी वविता योञ्जन, नेकपाका विद्यार्थी नेता आशिष योञ्जनको नेतृत्वमा ७० जनाभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Sunday, 2021 March 21, 5:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया