कम्युनिस्टको ज्यादति अन्त्य गर्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छः जितजंग बस्नेत

भिरकोट । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले संविधानको रक्षा र जनताका लागि पनि नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् ।

नेपाल तरुण दल स्याङ्जाले बिहीबार भिरकोटमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै बस्नेतले सरकारको नेतृत्व गर्ने विषयमा अलमलमा नपर्न सुझाव दिएका छन् । उनले कम्युनिस्टहरूभित्र लेनदनमा कुरा नमिलेर फुटेको अवस्थामा देश झन् बर्बाद हुनेभन्दै देशलाई सम्हाल्न कांग्रेस नेतृत्वमा आउनुपर्ने बताए ।

‘हामीले सरकारको नेतृत्व गर्नुपर्छ । कांग्रेसले सरकारको नेतृत्व गर्ने हो’, उनले भने, ‘किन नगर्ने सरकारको नेतृत्व ? यो देशमा परिवर्तन कांग्रेसले गर्‍यो । संविधान कांग्रेसले बनायो ।’

‘संविधान कार्यान्वयन पनि कांग्रेसले गर्‍यो । यो देशको समृद्धि पनि हामीले गर्ने हो’, बस्नेतले भने, ‘धनी देश हामीले बनाउने हो । रोजगारी दिने काम पनि कांग्रेसले गर्ने हो ।’

कांग्रेसलाई अवसर आउँदा केही नेताहरूले सरकारमा जानु हुँदैन भनेर दिएको अभिव्यक्तिको तरुण अध्यक्ष बस्नेतले आलोचना गरेका थिए ।

‘मलाई कहिले काहिँ दुःख लाग्छ । सरकार बनाउन लाग्यो, सरकार बनाउन हुँदैन भन्नु हुन्छ’, उनले भने, ‘सरकारमा जान लाग्यो, सरकारमा जानु हुँदैन भन्नु हुन्छ । राष्ट्रपति पाए राष्ट्रपति लिनु हुन्न भन्नु हुन्छ । अनि नेपाली कांग्रेसले गर्ने चाहिँ के त ? जहिले पनि प्रतिपक्षमा बस्ने हो कि ?’

‘कांग्रेस अगाडि बढ्नुपर्छ । अब कांग्रेसको पालो आइसकेको छ’, उनले भने, ‘जनताले हिजोका दिनमा केपी ओलीलाई म्याण्डेट दिएकै हो । हामीले पनि खुला हृदयले स्वीकार गरेको हो । राम्रो कुरामा सहयोग गरेको हो । नराम्रो कुरामा असहयोग पनि गरेको हो ।’

‘ओलीले केही गर्न सक्नुभएन । आन्तरिक मामिला भयो । लेनदेनको मामिला भयो । ओलीको पार्टी फुट्यो’, बस्नेतले भने, ‘आज पनि किचलो छ । ओलीले छोड्नु हुन्न । न्यायालयले असंवैधानिक कदम भनेर भनि सक्यो । उहाँको विरुद्धमा फैसला दियो । ओलीले पद छोड्नु हुन्न । नछोडेपछि सरकारको नेतृत्व कांग्रेसले गर्न भएन !’

प्रश्न गर्दै तरुण अध्यक्ष बस्नेतले भने, ‘कांग्रेसले संविधानलाई ट्रयाकमा ल्याउने होइन ? आफैले बनाएको संविधानलाई बचाउने कर्तव्य हो कि होइन ? जनताको आवाज बोल्न र खान दिने कर्तव्य कांग्रेसको हो कि होइन ?’

तरुण अध्यक्ष बस्नेतले प्रधानमन्त्री ओलीको राष्ट्रियताको कुरा नक्कली रहेको बताए । ‘ओलीले राष्ट्रियताको कुरा गर्ने होइन । तराईको सीमा यादव, थारुसहितका जातिले बचाएको हो । चीनतिर भोटे, शेर्पालगायतका जातजातिले बचाएका हुन्’, उनले भनेका छन् ।

कम्युनिस्टहरूको आलोचना गरेका अध्यक्ष बस्नेतले कांग्रेसलाई जहिले पनि कम्युनिस्टले सत्रु ठानेको बताए ।

‘कम्युनिस्टहरूले एउटा मात्रै विचार राख्छ । त्यो हो नेपाली कांग्रेस एक मात्र सत्रु हो भनेर सोँचीराख्छ । कांग्रेसलाई प्रथम सत्रुको रुपमा हेरेको छ’, उनले भने, ‘हामी जनतामा विश्वास गर्छौं । हामी चुनावमा विश्वास गर्छौं । स्वतन्त्र न्यायापालिका, मानवअधिकार, मौलिक हक अधिकारमा विश्वास गर्छौं । तर, कमयुनिस्टहरू कुनै अधिकारमा विश्वास गर्दैनन् । कम्युनिस्ट अधिकार दिने होइन अधिकार खोस्न र लिन बसेका छन् ।’

‘केपी ओली किन नहोस्, त्यो प्रचण्ड किन होस्, त्यो झलनाथ खनाल र माधव नेपाल किन नहोस् सबै कम्युनिस्टहरू एक हुन्’, अध्यक्ष बस्नेतले भनेका छन् ।

‘रामचन्द्र पौडेललाई तनहुँमा एउटा पुल उद्घाटन गर्दा प्रहरीले छ घण्टा रोक्यो । केपी ओलीको यो कार्यको विरोध प्रचण्डले गरेनन् । माधव नेपाल, झलनाथ खनालले पनि विरोध गरेनन् । त्यही रामकुमारी झाँक्रीले पनि विरोध गरिनन् । त्यो रामकुमारी झाँक्री पर्दा हामीले अधिकार हनन् हुनुहुँदैन भनेर हामीले लेख्यौँ । बोल्यौँ’, उनले भने, ‘हाम्रो पार्टीले बोलेको होइन ? केपी ओलीको विरुद्धमा हाम्रो पार्टी उत्रियो । रामकुमारी झाक्रीले हाम्रो शिक्षकलाई गुल्मीमा काट्छु र मार्छु भन्ने त्यही हो ।’

‘कम्युनिस्टको विचार एउटै हो । त्यो भनेको यो देशको राज्य सत्ता कब्जा गर्ने हो । त्यो केपी ओली किन नहोस् । ओली जुनदिन प्रधानमन्त्री बने त्यो दिन अवैधानिक रुपमा बनेका हुन्’, उनले भने, ‘राष्ट्रपतिले संविधान विपरित प्रधानमन्त्रीको शपथ गराउनुभयो । ओलीले अध्यक्षको रुपमा शपथ लिएका हुन् । व्यक्तिगत स्वार्थ मिल्दासम्म संविधान उल्लंघन नहुने । स्वार्थ बाँझिदा संविधान मिचिने ? हामीले पहिला पनि संविधान मिचिएको भन्यौँ । अहिले पनि संविधान मिचिदा बोल्यौँ ।’

उनले कम्युनिस्टहरूबाट जनता दिक्क भएको भन्दै तरुण दलले विरोधीहरूलाई चिरेर कांग्रेसलाई एक नम्बर पार्टी बनाउनुपर्ने बताए ।

‘पञ्चायतको सिदा खाएर जन्मिएका कम्युनिस्टसँग कांग्रेस सहकार्य गर्दैन’, उनले भने, ‘जंगलबाट आएको हो वा अहिलेका कम्युनिस्टसँग सहकार्य हुँदैन ।’

‘जसले चुनाव मान्दैन ती कम्युनिस्टहरू चुनावका कुरा गर्न थालेका छन् । निजी र व्यक्तिगत सम्पत्ति हुनु हुँदैन भन्ने कम्युनिस्टहरू प्राडोर, घर जग्गा जोडेर बसेका छन्’, उनले भने, ‘धर्म अफिम हो भन्ने कम्युनिस्टहरूले पशुपतिमा गएका छन् ।’

‘बालुवाटार बेच्न माधव नेपाल प्रधानमन्त्री बनेका हुन् । झलनाथ खनाल ७० करोड लिन प्रधानमन्त्री बने । बाबुराम यो देशको सबैभन्दा ठूलो विद्ववान । उहाँल पनि संविधान बनाउन सक्नु भएन’, अध्यक्ष बस्नेतले भने, ‘संविधान बनाउन कांग्रेस आउनु पर्‍यो । कांग्रेसले बनाउनु पर्‍यो ।’

आमसभालाई कांग्रेस नेताहरू गगन थापा, मोहन पाण्डे, शंकर पाण्डे, बुद्धिकुमार राना, राजु थापा, छायाँराम खनाल, तरुण अध्यक्ष भगवतप्रताप मल्ल, मेखलाल श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Published : Thursday, 2021 March 18, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया