हेलिकप्टर र ससुराली काण्डबारे कम्युनिस्ट मुख्यमन्त्रीको खैलाबैला हुने जवाफ, एउटा होइन तीन वटा हो

काठमाडौं । एमालेका नेता एवम् प्रदेश १ का कम्युनिस्ट मुख्यमन्त्री शेरधन राईले हेलिकप्टर चढेर ससुराली गाउँ गएको स्वीकार गरेका छन् ।

बेलाबेला यस्त खालका हर्कतका कारण विवादमा पर्दै आएका मुख्यमन्त्री राईले कार्यक्रमको सिलसिलामा अर्कैले पैसा तिरेको हेलिकप्टर चढेर ससुराली गएको स्वीकार गरेका हुन् ।

सगरमाथा टेलिभिजनसँगको अन्तर्वार्तामा राईले ससुराली जाँदा एउटा हेलिकप्टर मात्र नभइ तीन वटा हेलिकप्टर लिएर गएको बताएका छन् । उनले हेलिकप्टरको पैसा ससुराली तिरेको दाबी गरेका छन् ।

मुख्यमन्त्री राईले विवाहका बेला पनि कम्युनिस्ट पार्टीको सिद्धान्त र आचरण विपरित तामझामसहित लाखौँ रुपियाँ खर्च गरेर विवाह गरेको भनेर आलोचना समेत भएको थियो । जनतालाई सर्वहारा सिद्धान्त सिकाउने राईले आफू भने विवाहमा तामझामका साथ विवाह गरेका थिए ।

ससुराली जाँदा पनि तीन वटा हेलिकप्टर लगेर गएको भनेर राईको आलोचना भएको थियो । मुख्यमन्त्री राईले आलोचना गर्ने नेपाली प्रवृत्ति रहेको भन्दै आलोचकहरूमाथि आक्रोश पोखेका छन् । उनले हेलिकप्टरको खर्च सरकारी कोषबाट नतिरेको दाबी गरेका छन् ।

‘प्रोग्रमको सिलसिलामा अस्ती म ससुराली गाउँ गएको थिएँ । मेरो ससुरालीहरू अमेरिका बस्नु हुन्छ’, मुख्यमन्त्री राईले भनेका छन्, ‘अमेरिकाबाट आएको उहाँहरू आफ्नो गाउँ जाने नै हुनु भो । हेलिकप्टरको कुरा उहाँहरूलाई सामान्य कुरा भयो ।’

‘उहाँहरू आफ्नो खर्चले जानुभयो । सबै गर्नुभयो । अहिले मिडियामा राज्यको… के जाति, के जाति भनेर आएको छ’, राईले भने, ‘मैले चढेको हेलिकप्टर सरकारी पैसाले म्यानेज गरेको होइन । हामीले छुट्टै हिसाबले त्यो कार्यक्रमको सन्दर्भमा आयोजकहरूले म्यानेज गरेको हेलिकप्टर चढेको हो ।’

‘त्यहाँ अरु तीन वटा हेलिकप्टर पुगेको हो’, मुख्यमन्त्री राईले भनेका छन्, ‘म अनुचित गर्दैन अनुचित ढंगबाट चढ्दा पनि चढ्दैन ।’

राईले भनेका छन्, ‘सामाजिक सञ्जालमा खेलोमेलो गर्ने नेपाली प्रवृत्ति छ । त्यो प्रवृत्तिनै प्रकट भएको होला ।’

‘राज्य कोषको दुरुपयोग गरेर हेलिकप्टर भनेको छ । के भनेको छ । धेरै समयपछि’, राईले भनेका छन्, ‘उहाँहरू अमेरिकाबाट आउनुभएको सिलसिलामा पुग्नुुभयो । म कार्यक्रमको सिलसिलामा गएको थिएँ । हामी त्यसरी गएका हौँ ।’

‘त्यो सबै उहाँहरूको खर्चमा मैले चढेको हेलिकप्टर आयोजकको व्यवस्थापनमा हो’, मुख्यमन्त्री राईले सफाइ दिँदै दाबी गरेका छन् ।

मुख्यमन्त्री राईले हेलिकप्टरनै चढेपनि ठूलो कुरा होइन । तर, कम्युनिस्ट पार्टी त्यसमा पनि नेकपा (एमाले)को नेता ससुराली जाँदा हेलिकप्टरनै चढेर जानु भनेको एमालेको सिद्धान्त र आदर्शसँग मेल नभएको भनेर नेपाली जनताले आलोचना गरेका हुन् । तर, मुख्यमन्त्री राईले जनतालाई आलोचना गर्ने नेपाली प्रवृत्ति हो भनेर उल्टै आक्रोश पोखेका छन् ।

कम्युनिस्ट मुख्यमन्त्री राईकी श्रीमती जाङ्ग्मु इन शेर्पाले फेसबुकमा फोटो शेयर गर्दै हेलिकप्टर चढेर माइती हिँडेको जानकारी गराएकी छन् ।

‘भर्खरै आफ्नो जन्मस्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो’, उनले लेखेकी छिन्, ‘म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गरे थिए, धेरै खुशी लाग्यो ।’

आफ्नो गाउँको विकास नभएकोमा शेर्पाले दुखेसो गरेकी छिन् । ‘मेरो गाउँ र ठाउँको लागि केही गर्नुपर्ने महसुस गरें, किनकि त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र सञ्चारलगायतको पहुँचले जनतालाई जोड्न बाँकी रहेछ’, शेर्पाले भनेकी छिन्, ‘अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबैप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’

मुख्यमन्त्री राईले ५० वर्षको उमेरमा आफूभन्दा दोब्बर कम उमेरकी शेर्पासंग केही महिला अगाडि मात्रै विवाह गरेका थिए ।

Published : Wednesday, 2021 March 17, 12:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया